close

अब एन्ड्रोइडबाट पनि आईफोनमा ह्वाट्सएपको च्याट हिस्ट्री सार्न मिल्ने

टेकपाना टेकपाना

असार १, २०७९ १६:२९

अब एन्ड्रोइडबाट पनि आईफोनमा ह्वाट्सएपको च्याट हिस्ट्री सार्न मिल्ने

काठमाडौं । अब एन्ड्रोइड डिभाइसबाट पनि आईफोनमा ह्वाट्सएपको च्याट हिस्ट्री सार्न मिल्ने भएको छ । यसअगाडि आईफोन प्रयोगकर्ताले मात्र आईफोनको ह्वाट्सएपमा भएका च्याट अथवा कुराकानी एन्ड्रोइड डिभाइसमा सार्न मिल्थ्यो ।

अब भने मेटाले एन्ड्रोइडबाट आईफोनमा स्विच हुँदा च्याट हिस्ट्री सार्न मिल्ने व्यवस्था ल्याउन लागेको हो । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले आफ्नो फेसबुक पोस्टमार्फत कम्पनीले यो फिचरका लागि काम गरिरहेको जानकारी दिएका छन् ।

यो फिचर नयाँ अथवा फ्याक्ट्री रिसेट गरिएको आईफोनमा मात्र प्रयोग गर्न सकिनेछ । नयाँ आईफोन सेटअप गर्दा अथवा रिसेट गरिएको आईफोन पुनः सेटअप गर्ने बेलामा सुरुमा नै ‘मुभ डेटा फ्रम एन्ड्रोइड’ भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

यसपछि ह्वाट्सएपमा भएका सम्पूर्ण पुराना च्याटहरू, तस्वीर, भिडिओ, अडियो लगायतका डेटाहरू एन्ड्रोइडबाट आईफोनमा सहजै सार्न सकिनेछ ।

आईफोन पूर्ण रुपमा सेट गरिसकेपछि ह्वाट्सएप खोलेर पुरानै नम्बरबाट साइनइन गर्नुपर्ने हुन्छ । यसपछि एन्ड्रोइडमा भएको जस्तै ह्वाट्सएपको सम्पूर्ण हिस्ट्री आईफोनमा देख्न सकिनेछ ।

यो फिचर एन्ड्रोइड ५ भन्दा माथि र आईओएस १५.५ का प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३