close

विद्युतीय सवारी मर्मत गर्न निःशुल्क तालिम हुँदै

टेकपाना टेकपाना

असार १, २०७९ १६:४५

विद्युतीय सवारी मर्मत गर्न निःशुल्क तालिम हुँदै

काठमाडौं । विद्युतीय सवारी साधनकाे मर्मतसम्बन्धी निःशुल्क तालिम हुने भएकाे छ । पछिल्लाे समय नेपाली बजारमा विद्युतीय सवारीकाे प्रयाेग बढेसँगै यसकाे मर्मत सम्भार गर्ने जनशक्ति तयार पार्न सुन्दर यातायात प्रालिले निःशुल्क तालिम दिन लागेकाे हाे ।

स्कुटर, बाइक, कार लगायत सबै प्रकारको विद्युतीय साधनहरूको मर्मत कसरी गर्ने र विद्युतीय सवारी साधनकै वर्कशप कसरी सञ्चालन गर्न सकिन्छ अथवा पहिले कै वर्कशपमा विद्युतीय सवारीका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर कम्पनीले निःशुल्क तालिम सञ्चालन गर्न लागेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

‘विद्युतीय सवारी साधनको आकर्षण र प्रयोग बढ्दै गइरहेको छ । यद्यपि विद्युतीय सवारी साधन मर्मत सम्बन्धी ज्ञान भने खासै छैन । विद्युतीय सवारी मर्मतसम्बन्धी ज्ञान दिन नै हामीले निःशुल्क तालिम आयोजना गर्न लागेका हौं,’ उनले टेकपानासँग भने ।

पहिलो चरणमा १६ जनालाई मात्र तालिम दिइने उनले बताए । आउँदो शुक्रबारसम्ममा १६ जनाको कोटा पुगेमा सोही दिनदेखि कम्पनीको चार्जिङ स्टेसन धुम्बाराहीमा तालिम सञ्चालन गरिने उनले जानकारी दिए । 

तालिममा सहभागी हुन ९८४०६००८१७ मा फाेन सम्पर्क गर्न सकिनेछ ।          

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३