close

न्यानो स्याटलाइटमा सहकार्य गर्न नास्ट र थाइल्याण्डको विश्वविद्यालयबीच सम्झौता

टेकपाना टेकपाना

असार २, २०७९ १२:४५

न्यानो स्याटलाइटमा सहकार्य गर्न नास्ट र थाइल्याण्डको विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । पिको र न्यानो स्याटलाइट निर्माणका लागि आवश्यक सहयोगका लागि नेपाल विज्ञान तथा प्रज्ञा-प्रतिष्ठान (नास्ट) र किङ कंकुट युनिभर्सिटी अफ टेक्नोलोजी नर्थ बैंकक थाइल्याण्डबीच सम्झौता भएको छ ।

अघिल्लो साता थाइल्याण्डस्थित विश्वविद्यालयमा भएको एक कार्यक्रमका बीच यो सम्झौता भएको हो । सम्झौतामा नास्टका तर्फबाट उपकुलपति सुनिलबाबु श्रेष्ठ र किङ कंकुट तर्फबाट विश्वविद्यालयका अध्यक्ष प्राडा. सुचार्त सियाङ्चनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार पिको र न्यानो स्याटलाइट सम्बन्धी काम गर्नुका साथै विभिन्न किसिमको अनुसन्धानमा सहकार्य गर्ने, प्राविधिक जानकारीका साथै विद्यार्थी र अनुसन्धानकर्ता आदानप्रदान गर्ने गरिने छ ।

यसले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तालाई त्यहाँ गएर अध्ययन तथा अनुसन्धान गर्ने अवसर पाउने छन् । साथै उक्त विश्वविद्यालयका अनुसन्धानकर्ताले नास्टले गरिरहेको अनुसन्धानमा समेत आवश्यक सहयोग गर्ने उपकुलपति श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार यो सम्झौताको राम्रो पक्ष भनेको नेपालबाट छात्रवृत्तिको लागि आवेदन दिनेमध्ये एकजना विद्यार्थीलाई विश्वविद्यालयले तत्कालै छात्रवृत्ति प्रदान गरिसकेको छ । भने, यसलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने सहमति भएको छ ।

न्यानो स्याटलाइटको हकमा हाल नास्टले नेपालमै स्याटलाइट बनाएर आफैंले प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । त्यसका लागि हाल ‘डाँफे’ नामक स्याटलाइट निर्माण भइरहेको छ ।

डाँफे परियोजनाका लागि उक्त विश्वविद्यालयले आवश्यक प्राविधि र अनुसन्धानात्मक सहयोग गर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३