close

‘१-२ महिनामा चमत्कार हुँदैन, विज्ञान र प्रविधिको विकास देखाउन कम्तीमा १० वर्ष लाग्छ’

टेकपाना टेकपाना

जेठ २६, २०८३ १७:५६

‘१-२ महिनामा चमत्कार हुँदैन, विज्ञान र प्रविधिको विकास देखाउन कम्तीमा १० वर्ष लाग्छ’

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान र प्रविधिको क्षेत्रमा परिणाम देखिन समय लाग्ने बताएका छन् । मंगलबार राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले यस क्षेत्रको विकासका लागि दीर्घकालीन योजना र धैर्यता आवश्यक रहेको उल्लेख गरे ।

लामो समयदेखि छुट्टै मन्त्रालयको वकालत गर्दै आएका पुनले यो आफ्नो पुरानै चाहना भएको बताए । “चाहना त अहिलेदेखिको होइन, उहिलेदेखिको चाहना हो । यो नभइकन देश विकास हुँदैन भनेर एकोहोरो काग जस्तो कराउने मान्छे मै हुँ । कराउँदा कराउँदै फेरि आफैँ त्यही पासोमा परियो,” उनले भने ।

आफूले जिम्मेवारी पाएपछि क्षमताले भ्याएसम्म काम गर्ने प्रतिबद्धता जनाउँदै उनले थपे, “जे परे पनि अब गर्न सकेको जति गर्ने हो । दिमागमा आएजति, बुद्धिले भ्याएसम्म गर्ने हो । कसैलाई पनि सबै कुरा एकैचोटि आउँदैन ।”

मन्त्री पुनले तत्कालै ठुलो योजना सार्वजनिक नगर्ने संकेत गर्दै भने, “भोलि के गर्नुहुन्छ, के छ प्लान भनेर नसोध्नुहोला, त्यो नसोध्नुस् ।”

सरकारले विज्ञान प्रविधिका लागि छुट्याएको पुँजीगत खर्चको १ प्रतिशत बजेट निकै कम भएको भन्दै उनले भने, “त्यो १ प्रतिशत भन्ने धेरै पैसा होइन । मैले अस्ति पनि भनेको थिएँ, अहिले चाहिँ यो दशैँमा राम्रोसँग टिका लगाउन पुग्छ ।”

उनले अगाडि भने, “यो कुरा कन्टिन्यु (निरन्तर) हुनुपर्छ । कमसेकम पनि विज्ञान प्रविधिको विकास कति हुन्छ भन्ने कुरा देखाउन १० वर्ष लाग्छ । त्यो १-२ महिनामा हुने चमत्कार होइन ।”

उनले आजै मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १७:५६