close

एलसीमा कडाइ गर्दा एक वर्षमै १० लाखले घट्यो मोबाइल आयात

टेकपाना टेकपाना

असार ७, २०७९ १६:३८

एलसीमा कडाइ गर्दा एक वर्षमै १० लाखले घट्यो मोबाइल आयात

काठमाडौं । पछिल्लो केही समययता नेपालमा भित्रिने मोबाइलको संख्या घट्दै गएको छ । विशेषगरी सरकारले विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्नसक्ने भन्दै महँगा फोनसहित विलासी सामानका लागि प्रतीतपत्र (एलसी) खोल्न प्रतिबन्ध लगाएसँगै मोबाइल आयात घटेको हाे ।

भन्सार विभागले हालै जारी गरेको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार पछिल्लो ११ महिना अर्थात् साउनदेखि जेठसम्म ३८ अर्ब ६ करोड भन्दाबढीको ५५ लाख ८६ हजार ५ सय ७७ ओटा मोबाइल भित्रिएको छ । जुन गत आर्थिक वर्ष ०७७/७८ को पहिलो ११ महिनाको तुलनामा नाै लाख ७० हजारभन्दा बढीले कम हो ।

उक्त अवधिमा नेपालमा ३४ अर्ब १४ करोडभन्दा बढीको ६५ लाख ५४ हजार ३२३ ओटा मोबाइल भित्रिएको थियो । मोबाइल आयात संख्याको हिसाबले अघिल्लो आवको तुलनामा यो वर्ष घटेको भएपनि लागतको हिसाबमा भने चार अर्बभन्दा बढी रहेको देखिन्छ ।

वार्षिक आयातसँगै मासिक रुपमा पनि मोबाइल आयात ठूलो मात्रामा घटिरहेको देखन्छि । तथ्याङ्क अनुसार वैशाखसम्म ५३ लाख ६५ हजार ११५ ओटा मोबाइल भित्रिएको छ ।

अघिल्लो महिना अर्थात् चैत मसान्तसम्म ३४ अर्ब ९७ करोड ९७ लाख भन्दा बढिको ५० लाख ८५९ ओटा मोबाइल भित्रिएका छन् ।

चैतमा मात्रै झन्डै चार अर्ब बराबरको साढे सात लाख मोबाइल सेट भित्रिएको तथ्यांकले देखाएको छ । यो हिसाबले चैतबाट वैशाखमा आइपुग्दा ३ लाख ६४ हजार २५६ मोबाइल भित्रिएको थियो ।

तर, वैशाखबाट जेठमा आईपुग्दा मोबाइल आयात घटेर २ लाख १८ हजार ४६२ ओटामा सीमित भएको छ ।

यो अवधिमा चीनबाट सबैभन्दा बढी ४४ लाख १३ हजार ५४७ ओटा मोबाइल भित्रिएको देखिन्छ । भने, दोस्रोमा भारत रहेको छ । भारतबाट जेठसम्म ९ लाख ५६१ र तेस्रोमा रहेको भियतनामबाट २ लाख ३८ हजार ५५९ ओटा मोबाइल भित्रिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३