close

एप्पलको एयरट्यागलाई चुनौती दिन सस्तो मूल्यमा ह्वावे ट्याग सार्वजनिक

टेकपाना टेकपाना

असार २३, २०७९ १९:५८

एप्पलको एयरट्यागलाई चुनौती दिन सस्तो मूल्यमा ह्वावे ट्याग सार्वजनिक

काठमाडौं । एप्पल एयरट्यागको प्रतिस्पर्धीका रूपमा ह्वावेले आफ्नै ट्याग ल्याएको छ । हेर्दा ह्वावे ट्याग र एप्पलकाे एयरट्याग उस्तै देखिन्छन् । दुवै उत्पादनबीच धेरै फिचर समान छन् । तर, ह्वावे ट्याग एप्पल एयरट्यागभन्दा सस्तो छ ।

अहिलेसम्म एप्पलको एयरट्याग विश्वका अधिकांश बजारमा बिक्री भइरहेको छ । त्यस्तै सामसङले पनि स्मार्ट ट्याग र स्मार्ट ट्याग प्लस उपलब्ध गराउँदै आएको  छ ।

ह्वावे ट्यागमा एप्पल एयरट्याग जस्तै जीपीएस मोड्युल रहेको छ । वस्तुको स्थिति थाहा पाउन वा कुन ठाउँमा छ भन्ने अनुमान लगाउन ह्वावे ट्याग ब्लुटुथ डिभाइसमा निर्भर हुने गर्दछ । यद्यपि सो ब्लुटुथ डिभाइस ह्वावे ब्रान्डकै हुनुपर्छ या पर्दैन भन्ने कुरा खुलाइएकाे छ ।

एप्पल एयरट्याग प्रयोग गर्न एप्पलको डिभाइस आवश्यक हुने गर्दछ । यदि ह्वावे ट्याग प्रयोग गर्न डिभाइस पनि ह्वावे नै हुनुपर्ने हो भने चीनभन्दा बाहिरका देशमा बजार स्थापित गर्न ह्वावेलाई मुस्किल नै पर्नेछ ।

उदाहरणका लागि एप्पललाई लिन सक्छौँ । जुन ठाउँमा एप्पलका उत्पादन त्यति छैनन्, त्यस ठाउँमा एयरट्यागको कुनै औचित्य नै छैन ।

त्यस्तै ह्वावे ट्यागमा अल्ट्रा-वाइडब्यान्ड चिपको अभाव छ, जसले गर्दा ह्वावे ट्यागले सही तरिकाले ट्रयाक नगर्नसक्छ ।

ह्वावे ट्यागमा पानी र धुलाे प्रतिराेधी प्रविधि राखिएकाे छ । यसमा एक वर्षसम्म टिकाउ हुने ब्याट्री समावेश छ । कम्पनीले यसमा एनएफसी चिप प्रयाेग गरेको छ, जसका माध्यमबाट आवश्यक पर्दा आफ्नो विवरण देखाउन सकिन्छ ।

त्यस्तै यसमा एउटा स्पिकर पनि छ, जसले गर्दा सामान फेला पार्न सहज हुने कम्पनीकाे दाबी छ ।

हाल ह्वावेले ह्वावेट्याग चीनमा मात्र सार्वजनिक गरेको छ । यसको मूल्य ९९ चिनिया युआन (करिब एक हजार ८७६ रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३