close

अनलाइनमा अपमान गर्नेलाई जेल हाल्न थाल्यो जापान

टेकपाना टेकपाना

असार २६, २०७९ १२:४४

अनलाइनमा अपमान गर्नेलाई जेल हाल्न थाल्यो जापान

काठमाडौं । अपमान हुने गरी अनलाइनमा पोस्ट गर्ने व्यक्तिलाई जापानले एक वर्ष जेलमा राख्ने भएको छ । जापानले यस वर्षको गृष्मकालीन समयमा पारित गरेको कानून बिहीबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

यति मात्र होइन, अनलाइनमा अपमान गर्ने व्यक्तिमाथि तीन लाख येन अर्थात २२०० अमेरिकी डलर जरिवाना समेत हुनसक्नेछ । पहिला यस किसिमको कसुरमा ३० दिन जेल सजाय र दश हजार येन अर्थात ७५ अमेरिकी डलरसम्म जरिवानाको व्यवस्था रहेको थियो ।

विधेयकमाथि उठेका आलोचनालाई मध्यनजर गर्दै यदि यसबाट अभिव्यक्ति स्वतन्त्रतामा असर पुगेको खण्डमा तीन वर्षमा पुनर्विचार गरिनेछ । विधेयक समर्थकले मुलुकमा साइबरबुलिङ कम गर्न यस किसिमको व्यवस्था आवश्यक रहेको बताउँदै आएका छन् ।

तर जापानका फौजदारी वकिल शेहो चाओले कानून पारित भएलगत्तै सीएनएनसँगको कुराकानीका क्रममा त्यसमा अपमान मापन गर्ने स्पष्ट परिभाषा नै नरहेको बताएका थिए । कानूनमा उल्लेख भएअनुसार निश्चित तथ्य बेगर कसैको निन्दा गर्नु अपमान हुनेछ ।

“यस्तोमा यदि कसैले जापानका नेतालाई मूर्ख भन्यो भने नयाँ कानून अनुसार त्यो अपमान अन्तर्गत पर्नेछ,” चाओले भनेका छन् । अनलाइन दुर्व्यवहारका कारण रियालिटी टेलिभिजन स्टार हाना किमुराले आत्महत्या गरेपछि जापानी अधिकारीहरूले साइबर बुलिङलाई नियन्त्रण गर्न यो कानून अगाडि बढाएका थिए ।

उनकी आमाले साइबरबुलिङ विरुद्ध नीति निर्माणका लागि दवाव दिएकी थिइन् । केही अनुसन्धानहरूले आत्महत्या जस्ता गतिविधि र साइबरबुलिङबीचको सम्बन्ध देखाएका छन् । यद्यपि अधिकांश अनुसन्धान बालबालिका तथा किशोरकिशोरीको विषयमा गरिएका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३