काठमाडौं । वनप्लसका सह-संस्थापक कार्ल पेईले स्थापना गरेको नयाँ स्टार्टअप कम्पनी नथिङको पहिलो स्मार्टफोन भोलि मङ्गलबार सार्वजनिक हुँदै छ । ‘नथिङ; रिटर्न टु इन्स्टिक्ट’ (Nothing: Return to instinct) कार्यक्रममार्फत कम्पनीले आफ्नो पहिलो स्मार्टफोन ‘फोन वान’ सार्वजनिक गर्न लागेको हो ।
नथिङले विश्व बजारमा भोलि सार्वजनिक गर्ने फोनमा केके फिचर हुन्छन् अथवा फोन कस्तो हुन्छ भन्ने आधारभूत फिचरको जानकारी बाहिर आइसकेको छ । यो फोनको क्यामेरा डिजाइन र फोनको बाहिरी डिजाइन आईफोनसँग मिल्दोजुल्दो छ ।
यसको बाहिरी कभर पारदर्शी देखिन्छ । कभरमा भित्रको वायरलेस चार्जिङ सपोर्ट गर्ने क्वाइट पनि प्रस्टै देख्न सकिन्छ । त्यसभन्दा पनि मुख्य चासोको विषय फोनको मूल्य हो ।
जुन कुरा कम्पनीले अहिलेसम्म कतै खुलाएको छैन । फोनको फिचर र डिजाइन आकर्षक भएकाले धेरैलाई यसको मूल्यलाई लिएर बढी कौतुहलता छाएको देखिन्छ ।
त्यस्तै यो फोन कुन कुन बजारमा उपलब्ध होला र कहाँबाट खरिद गर्न सकिएला भन्ने कुरा पनि धेरैको जिज्ञासाको विषय हो । यी सबै प्रश्नको जवाफ मङ्गलबार कार्यक्रमसँगै आउनेछ ।
फोन कति बजे सार्वजनिक हुन्छ ?
फोन जुलाई १२ अर्थात असार २८ गते मङ्गलबार नेपाली समय अनुसार राति पौने नौ बजे सुरु हुनेछ ।
यसरी हेर्नुहोस् नथिङको लाइभ कार्यक्रम
तपाईँले यो फोन सार्वजनिक हुँदै गर्दा टेकपानाबाट त्यसको अपडेट पाउन सक्नुहुनेछ । त्यस बाहेक यदि तपाईँ लाइभ इभेन्ट नै हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुपर्नेछ ।