close

महावीर पुनलाई गण्डकी रत्न सम्मान, अनुसन्धानमा प्रदेशले छुट्यायो १० करोड

टेकपाना टेकपाना

असार २७, २०७९ १३:४४

महावीर पुनलाई गण्डकी रत्न सम्मान, अनुसन्धानमा प्रदेशले छुट्यायो १० करोड


काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सम्मान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गत फागुन मै भएको थियो ।

त्यसबेला पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको जनाइएको छ । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको भन्दै प्रशंसा गरेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । उनले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको समेत जानकारी दिए ।

उनले भने, ‘हामीले महसुस गरेका छौं । समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ ।’ 

सम्मान ग्रहण गर्दै पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरू समृद्ध भएको उदाहरण पेस गरे । उनले भने, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरू रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’

अनुसन्धान आफैमा कठिन काम भएको भन्दै उनले १ सय वटा अनुसन्धानमध्ये १०/१५ वटा मात्र सफल हुने समेत बताएका छन् । ‘हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्,’ उनी भन्छन्, ‘तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन् ।’

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविश्कार केन्द्र खोलेकामा आफू उत्साही रहेको समेत कार्यक्रममा बताएका छन् । गण्डकीमा आविश्कार केन्द्र खुलेकै कारण यो सम्मान लिन तयार भएको पनि उनको दावी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३