close

प्रयोगमा नआएका ९० हजार बढी ‘.np’ डोमेन फुकुवा गर्दै मर्कन्टायल, यसरी गर्नुहोस् पुन: भेरिफाई

टेकपाना टेकपाना

जेठ २५, २०८३ १६:६

प्रयोगमा नआएका ९० हजार बढी ‘.np’ डोमेन फुकुवा गर्दै मर्कन्टायल, यसरी गर्नुहोस् पुन: भेरिफाई

काठमाडौँ । नेपालको कन्ट्री लेभल डोमेन (.np) व्यवस्थापन गर्दै आएको मर्कन्टायल कम्युनिकेसनले लामो समयदेखि दर्ता भएर पनि प्रयोगमा नआएका करिब ९० हजार डोमेनलाई पुनः वर्गीकरण तथा फुकुवा गर्ने प्रक्रिया अघि बढाएको छ । मर्कन्टायलले निष्क्रिय तथा पार्क गरिएका डोमेनलाई प्रणालीबाट हटाउन पुनः प्रमाणीकरणको अभियान सुरु गरेको हो । 

पछिल्लो समय सामाजिक सञ्जालमा डटएनपी डोमेनको म्याद सकिने र त्यसपछि जोकोहीले लिन मिल्ने दाबीसहितका पोस्ट आएका छन् । मर्कन्टाइलको स्क्रिनशट राख्दै प्रयोगकर्ताले डटएनपी डोमेन एक्सपायर हुने दाबी गरेका छन् । तर, मर्कन्टाइलले तोकेरै यति समयमा एक्सपायर हुन्छ भनी सकेको छैन । यद्यपि रिजर्भ गरिएका, तर त्यसमा कुनै काम नगरिएका डोमेन रिभेरिफिकेसन प्रक्रियामा नआएपछि फुकुवा गर्न थालेको भने छ ।

सुरुवाती समयमा डोमेन रिजर्भ गर्ने, तर त्यसलाई उपयोग नगरी त्यत्तिकै छोड्ने प्रयोगकर्ताका कारण नयाँ तथा वास्तविक प्रयोगकर्ताले चाहेको डोमेन पाउन नसकेको गुनासो सम्बोधन गर्न यो कदम चालिएको कम्पनीले जनाएको छ ।

मर्कन्टायलका डोमेन लिड रोशनकुमार बनका अनुसार नेपालमा ‘डटएनपी’ डोमेनको इतिहास लामो भए पनि यसको व्यवस्थापनमा अहिले नयाँ चुनौती थपिएका छन् । “सन् १९९४ देखि मर्कन्टायलले डोमेन बाँड्न सुरु गरेको हो । त्यतिखेर डटकम जस्तो एक्सपायरी सिस्टम हामीले सोचेका थिएनौँ, त्यसैले निःशुल्क छोडियो । तर करिब ३० वर्षको अवधिमा मानिसले डोमेन लिएर पार्क गरिराखे, जसले गर्दा यो अनयुज्ड भयो। वेबसाइट केही पनि चलेको छैन, तर नयाँ प्रयोगकर्ताले आफ्नो नाम वा ब्रान्डको डोमेन दर्ता गर्न खोज्दा उपलब्ध हुँदैन,” बनले टेकपानासँग भने ।

यसैगरी पुराना डोमेन प्रणालीमा अद्यावधिक नभएको विषयमा प्रष्ट पार्दै बनले अगाडि थपे, “हाम्रो प्रणालीमा अहिले करिब ९० हजार जति डोमेन पार्क भएका र नचलेका अवस्थामा छन् । पहिले कागजातका आधारमा दर्ता भए पनि अहिले डिजिटल भइसकेपछि मानिस आफ्नो डोमेन डिजिटाइज गर्न आएका छैनन् । त्यसैले यी ९० हजार डोमेनलाई रिभेरिफिकेसन स्टेटमा राखेका छौँ । यस्ता डोमेन सञ्चालकले नेमसर्भर परिवर्तन गर्न पाउँदैनन् र नयाँ होस्टिङमा माइग्रेट गर्दा समस्या आउने भएकाले उनीहरूले अनिवार्य रूपमा पुनः प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।”

नयाँ एक्सपायरी प्रणालीको प्राविधिक पक्षबारे बोल्दै बनले भने, “मैले २०२३ को डिसेम्बरदेखि दर्ता भएका डोमेनको हकमा एक वर्षको टाइमलाइन (एक्सपायरी) राखेको छु । तर म पनि त निश्चित नियममा बाँधिनुपर्छ । या त सरकारले भनिदिनुपर्‍यो, या हाम्रो म्यानेजमेन्टले अब एक्सपायरी सिस्टम लागू गरौँ भन्नुपर्‍यो । हामीले सिस्टममा एक्सपायरी र रिन्यूको विकल्प तयार पारिसकेका छौँ, मात्र कार्यान्वयन हुन बाँकी छ ।” उनका अनुसार प्रणाली पूर्ण रूपमा लागू भएपछि प्रयोगकर्ताको ड्यासबोर्डमा म्याद सकिने मिति प्रष्ट देखिनेछ ।

“भोलिको दिनमा डोमेन एक्सपायर भएर स्वतः अर्कोलाई जान सक्छ,” बनले भने, “हामीले प्रयोगकर्तालाई फोन गर्ने होइन, ईमेलमै सम्पर्क गर्ने हो । हामीले चार पटकसम्म (म्याद सकिनु १ महिना, १५ दिन, ७ दिन र १ दिन अगाडि) ईमेल जाने प्रणाली बनाएका छौँ । तर प्रयोगकर्ताले गलत ईमेल दिनुभयो भने नोटिफिकेसन पाउनुहुन्न र डोमेन अर्काले लिएर जान्छ । त्यसैले सही विवरण उपलब्ध गराउन बकाइदा लेखिएको छ तर चेतनाको कमीले गर्दा मानिसहरू अझै विवरण सच्याउन आइरहेका छैनन् ।”

पुनः प्रमाणीकरणको प्रक्रिया अन्तर्गत व्यक्तिगत डोमेनका हकमा प्रयोगकर्ताले आफ्नो स्वामित्व पुष्टि गर्ने औपचारिक अनुरोध पत्र र आफ्नो परिचय पत्र अनलाइन अपलोड गर्नुपर्ने हुन्छ । परिचय पत्रका रूपमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमति पत्र, मतदाता परिचय पत्र, गैर-आवासीय नेपाली परिचय पत्र वा विदेशी नागरिकको हकमा नेपाली आवासीय भिसा मध्ये कुनै एक कागजात पेश गर्न सकिनेछ । प्रयोगकर्ताले आफ्नो ड्यासबोर्डमा लगइन गरी ‘Reverification State’ मा रहेको डोमेनमा क्लिक गरेर यी कागजात सजिलै अपलोड गर्न सक्नेछन् ।

संस्थागत डोमेनको पुनः प्रमाणीकरणका लागि सम्बन्धित संस्थाको आधिकारिक लेटरहेडमा हस्ताक्षर र छापसहितको अनुरोध पत्रका साथै दर्ता सम्बन्धी कागजात आवश्यक पर्छ । स्थानीय संस्थाका लागि कम्पनी, फर्म वा साझेदारी दर्ताको प्रमाणपत्र आवश्यक पर्छ भने नेपालमा दर्ता भएका विदेशी शाखा वा सम्पर्क कार्यालयका लागि दर्ता प्रमाणपत्र वा समाज कल्याण परिषद् सम्बद्धता प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ। त्यस्तै नेपालमा सञ्चालित तर दर्ता नभएका ‘जोइन्ट भेन्चर’ जस्ता निकायका हकमा प्यान दर्ता प्रमाणपत्र र नेपालमा व्यावसायिक स्वार्थ भएका विदेशी कम्पनीका हकमा नेपाल सरकारले जारी गरेको ट्रेडमार्क दर्ता प्रमाणपत्र वा उद्योग विभागको आधिकारिक दर्ता रसिद आवश्यक पर्छ ।

मर्कन्टायलले प्रयोगकर्तालाई आफ्नो डोमेन सञ्चालन सहज बनाउन र भविष्यमा आउन सक्ने कानुनी वा प्राविधिक जटिलताबाट बच्न समयमै यो प्रक्रिया पूरा गर्न आह्वान गरेको छ । यदि प्रयोगकर्तालाई आफ्नो डोमेन आवश्यक नरहेको खण्डमा उनीहरूले स्वैच्छिक रूपमा डोमेन फुकुवा (रिलिज) गर्न सक्ने विकल्प पनि ड्यासबोर्डमा उपलब्ध गराइएको छ । तोकिएको समयमा पुनः प्रमाणीकरणका सर्तहरू पूरा नभएमा वा सही विवरण उपलब्ध नभएमा डोमेनलाई रोक्का गर्ने वा फुकुवा गर्ने जस्ता कदम चालिने मर्कन्टायलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ १६:५८