काठमाडौं । गत वर्ष अक्टोबरमा सार्वजनिक भएको अनर एक्स ३० आईको उत्तराधिकारीको रूपमा अनरले एक्स ४० आई सार्वजनिक गरेको छ । हाललाई चिनियाँ बजारमा सार्वजनिक भएको यो फोन ७.४३ एमएम मोटाइ सहितको स्लिम डिजाइनमा आएको छ ।
४० वाट फास्ट चार्जिङ सपोर्ट रहेको यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनको तौल १७५ ग्राम मात्र रहेको छ । समथल किनारा (फ्ल्याट एज) भएको यो फोनमा ६.७ इन्चको एलटीपीएस एलसीडी पन्चहोल डिस्प्ले रहेको छ ।
जसमा स्क्रिनको एउटा कुनामा छुट्टै क्यामेरा लेन्स राखिएको छ । डाइमेन्सिटी ७०० चिपसेटबाट सञ्चालित यो फोन ५ जीबीसम्मको भर्चुअल र्याम सहित, ८ जीबी वा १२ जीबी र्याम तथा १२८ जीबी वा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध भएको छ ।
त्यस्तै ४००० एमएएच ब्याट्री क्षमता भएको अनर एक्स ४० आईले ४० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने बताइएको छ । फोनको पछाडि भागमा रहेको क्यामेरा सेटअप पनि आकर्षक देखिएको छ ।
जसमा पछाडिका दुई ओटै क्यामेरा एक आपसमा जोडिएका (इन्टरसेक्ट) छन् । जसमा रहेको मुख्य क्यामेरा ५० मेगा पिक्सेलको छ भने अर्को २ मेगापिक्सेलको डेफ्थ सेन्सर रहेको छ ।
सेल्फीका लागि अनर एक्स ४० आईमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । एन्ड्रोइड १२ मा आधारित यो फोन म्याजिक यूआई ६.१ अपेरेटिङ सिस्टममा चल्नेछ ।
छेउमा फिङ्गरप्रिन्ट सेन्सर रहेको फोनमा यूएसबी टाइप-सी पोर्ट रहेको छ । यो फोन विभिन्न तीन ओटा भेरियन्टमा उपलब्ध हुनेछ ।
८ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य १,५९९ युआन (करिब ३३ हजार रुपैयाँ), ८ जीबी र्याम तथा २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य १,९९९ युआन (करिब ३४ हजार रुपैयाँ) र १२ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य १,९९९ युआन (करिब ३८ हजार रुपैयाँ) राखिएको छ ।