काठमाडौं । गुगलले डेटिङ एप निर्माता म्याच ग्रुप विरुद्ध आर्थिक अपचलन गरेको भन्दै मुद्दा दायर गरेको छ । यससँगै म्याच ग्रुप अन्तर्गत रहेका टिन्डर, ओकेक्युपिड र हिञ्जज जस्ता डेटिङ प्लेटफर्म गुगल प्ले स्टोरबाट हट्न सक्ने आँकलन गरिएको छ ।
म्याच ग्रुपले अन्य एप डेभलपरबाट अनुचित रुपमा आर्थिक लाभ लिएको र त्यसबाट गुगल प्ले स्टोरलाई भने कुनै भुक्तानी नगरेको आरोप लगाइएको छ । यसमा गुगलले क्षतिपूर्तिको माग गर्नुका साथै गुगल प्ले स्टोरबाट समेत हटाउन पाउनुपर्ने दाबी गरेको बताइएको छ ।
यसअघि गत मे महिनामा म्याच ग्रुपले सबै एन्ड्रोइड डेभलपरका लागि प्ले स्टोर बिलिङमार्फत भुक्तानी गर्नुपर्ने गुगलको निर्णय विरुद्ध मुद्दा दायर गरेको थियो । यो विषय दुई पक्षबीच भएको आपसी समझदारी पश्चात त्यसै टुङ्गिएको थियो ।
त्यसबेला टिन्डरलाई प्ले स्टोरमा रहन दिने र कम्पनीले प्ले स्टोर बिलिङका साथै अन्य बिलिङ समेत गर्न पाउने सहमति भएको थियो । तर, उक्त सहमति पश्चात कम्पनीले कुनै पनि भुक्तानी नै नगरेको आरोप गुगलको मुख्य कम्पनी अल्फाबेटले लगाएको छ ।