काठमाडौं । नेपाल मोबाइल ब्रोडब्यान्ड सेवामा सात स्थान पछाडि धकेलिएको छ । ओकलाले गरेको स्पिडटेस्ट ग्लोबल इन्डेक्स वरियतामा जुन महिनामा नेपालको प्रदर्शन कमजोर देखिएको हो ।
गत मे महिनाको मोबाइल ब्रोडब्यान्ड इन्डेक्समा विश्वका १३९ देशमध्ये १०६औँ स्थानमा रहेको नेपाल जुनमा आइपुग्दा सात स्थान खस्किएर ११३औँ नम्बरमा धकेलिएको हो ।
पछिल्लो आँकडाअनुसार नेपालको मोबाइल ब्रोडब्यान्ड इन्टरनेटको औसत डाउनलोड स्पिड १५.३ एमबीपीएस, अपलोड स्पिड ८.८४ एमबीपीएस र लेटेन्सी २४ मिलिसेकेन्ड रहेको छ ।
जब कि मे महिनामा नेपालको मोबाइल ब्रोडब्यान्डको औसत डाउनलोड स्पिड १६.४९ एमबीपीएस, अपलोड स्पिड १० एमबीपीएस र लेटेन्सी २३ मिलिसेकेन्ड रहेको थियो ।
यद्यपि नेपाल मोबाइल ब्रोडब्यान्डमा पाकिस्तान, भारत, श्रीलङ्का, बङ्ग्लादेश, अफगानिस्तानभन्दा अगाडि रहेको छ ।
फिक्स्ड ब्रोडब्यान्डमा यथावत
मोबाइल ब्रोडब्यान्ड इन्टरनेटमा खस्किए पनि फिक्स्ड लाइन ब्रोडब्यान्डमा भने नेपाल पहिलेकै ८१ औँ स्थानमा यथावत रहेको छ ।
हाल नेपालको फिक्स्ड लाइन ब्रोडब्यान्डको औसत डाउनलोड स्पिड ४२.६२ एमबीपीएस, अपलोड स्पिड ४२.१३ एमबीपीएस र लेटेन्सी ५ मिलिसेकेन्ड रहेको छ ।
विश्व वरियतामा स्थान यथावत रहेको भए पनि नेपालको फिक्स्ड लाइन ब्रोडब्यान्ड इन्टरनेटको डाउनलोड र अपलोड दुवै स्पिडमा सुधार देखिएको छ ।
मे महिनामा नेपालको औसत डाउनलोड स्पिड ४२.५४ एमबीपीएस र अपलोड स्पिड ४०.८६ एमबीपीएस रहेको थियो । ओकलाले विश्वका १८२ देशको फिक्स्डलाइन ब्रोडब्यान्ड इन्टरनेट मापन गरी यो वरियता निर्धारण गरेको हो ।