close

गुगल क्रोममा बग भेट्टाउने ह्याकरले पाए १ करोड पुरस्कार

टेकपाना टेकपाना

साउन १९, २०७९ ७:३८

गुगल क्रोममा बग भेट्टाउने ह्याकरले पाए १ करोड पुरस्कार

काठमाडौं । गुगलले क्रोम ब्राउजरको नयाँ भर्सन १०४ मा रहेका कमजोरी पत्ता लगाउने इथिकल ह्याकर एवं सुरक्षा अनुसन्धानकर्मीलाई करिब ९० हजार डलर अर्थात् एक करोड १४ लाख रूपैयाँ बराबरको रकम प्रदान गरेको छ ।

क्रोमकाे कुनै भर्सनमा बग बाउन्टीका लागि खर्चिएको यो रकम अहिलेसम्मकै धेरै हो । खबर अनुसार गुगलले विभिन्न २७ भल्नरेबिलिटी अर्थात् सुरक्षा कमजोरी रिपोर्ट गर्ने व्यक्तिहरुलाई यो रकम दिएको हो ।

१०४ भर्सनमा रहेका कमजोरी फेला पारेर एक अनुसन्धानकर्मीले १५ हजार डलर प्राप्त गरेका छन् । तर उनको नाम खुलाइएको छैन । उनले ओम्नी बक्स कम्पोनेन्टमा ‘युज–आफ्टर–फ्री’ अर्थात प्रोग्राम सञ्चालनको क्रममा डाइनामिक मेमोरीको गलत प्रयोग भएको बग फेला पारेका थिए । यस्ता कमजोरी क्रोममा धेरैपटक फेला पर्दै आएका छन् ।

त्यस्तै ३६० अल्फा ल्याबका साइबर अनुसन्धानकर्ता न्यान वाङ र गुङ गङले १० हजार डलरको बग बाउन्टी हात पारेका छन् । उनीहरुले पनि ‘युज–आफ्टर–फ्री’ कमजोरी फेला पारेका थिए ।

तर, यो सेफ ब्राउजिङ कम्पोनेन्टमा रहेकाले उनीहरुलाई १० हजार डलरमात्रै उपलब्ध गराइएको गुगलले जनाएकाे छ ।

त्यस्तै ह्वाइट ह्याट ह्याकर र अन्य बग हन्टरहरूले एकदेखि सात हजार डलरसम्म बाउन्टी हात पारेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३