close

‘अटो पाइलट’ र ‘सेल्फ ड्राइभिङ’मा टेस्लाको दाबी गलत भएको भन्दै मुद्दा

टेकपाना टेकपाना

साउन २४, २०७९ ८:११

‘अटो पाइलट’ र ‘सेल्फ ड्राइभिङ’मा टेस्लाको दाबी गलत भएको भन्दै मुद्दा

काठमाडौं । चर्चित विद्युतीय कार निर्माता टेस्लामाथि मुद्दा दायर भएकाे छ । ‘अटो पाइलट’ र ‘सेल्फ ड्राइभिङ’ फिचरमा कम्पनीले गलत दाबी गर्दै आएको भन्दै अमेरिकाको क्यालिफोर्नियाको सवारी विभागले मुद्दा दायर गरेकाे हाे ।

‘कारमा प्रयोग भएको ‘अटो पाइलट’ र ‘सेल्फ ड्राइभिङ’ प्रविधि आफैँले कार सञ्चालन गर्ने टेस्लाको दाबी गलत छ,’ विभागले हालेको मुद्दामा भनिएको छ ।

‘कारमा ड्राइभरको कुनै नियन्त्रणबिनै लामो तथा छोटो यात्रा तय गर्न  सकिन्छ,’ टेस्लाको ‘अटो पाइलट’ पेजमा फुल सेल्फ ड्राइभिङको विषयमा उल्लेख गरिएको विषयलाई सन्दर्भ बनाउँदै विभागले भनेको छ, ‘साथै त्यसमा कार आफैँले सडक तथा कच्ची बाटो पहिचान गरी गाडीको सिट मिलाउने समेत भनिएको छ ।’

टेस्लाका यो दाबी भ्रामक भएको विभागकाे तर्क छ ।

ड्राइभरले अटो-पार्किङ सहितको सेल्फ ड्राइभिङ सिस्टमका लागि १२ हजार डलर भुक्तानी गर्नुपर्ने हुन्छ । साथै यसमा अटो लेन चेन्जिङका साथै पार्किङ गरिएको ठाउँबाट आफू बसेको स्थानसम्म बोलाउनसक्ने फिचर उपलब्ध हुने दाबी टेस्लाको छ ।

तर, विज्ञापन गरिएजस्तो अटो ड्राइभिङ प्रविधिले काम नगर्ने विभागको तर्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३