close

साइबर सुरक्षालाई चुनौती दिने पेगासस स्पाइवेयर निर्माता एनएसओ ग्रुप आफैं समस्यामा

टेकपाना टेकपाना

भदौ ६, २०७९ १५:४८

साइबर सुरक्षालाई चुनौती दिने पेगासस स्पाइवेयर निर्माता एनएसओ ग्रुप आफैं समस्यामा

काठमाडौं । दुई वर्ष बढीको विवादपछि पेगासस स्पाइवेयर निर्माता एनएसओ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले राजीनामा दिएका छन् ।

संस्थाको पुनसंरचना गर्ने भन्दै एनएसओका सह-संस्थापकसमेत रहेका शालेभ हुलियोले राजीनामा दिएका हुन् ।

उनले कम्पनीको सञ्चालन प्रमुख सञ्चालन अधिकृत यारोन सोहटलाई पद हस्तान्तरण गर्दै नाटोका सदस्य देशहरूमा पुनः केन्द्रित हुन आग्रह गरेका छन् ।

ब्लुमबर्गमा प्रकाशित एक समाचार अनुसार एनएसओले आफ्नो कामदार कटौती पनि गरिरहेको छ ।

संस्थाले हुलियोको औपचारिक बिदाअघि नै लगभग १०० कर्मचारीलाई हटाउने योजना बनाएको छ ।

एनएसओ ग्रुपले विभिन्न देशका सरकार तथा अन्य प्राविधिक कम्पनीहरूबाट आलोचित हुनुपर्ने समस्या धेरै भोग्न थालेपछि आफ्नो कम्पनीको पुनर्संरचना गर्ने निर्णय लिएको उक्त समाचारमा उल्लेख छ ।

सन् २०२१ को नोभेम्बरमा अमेरिकाको वाणिज्य विभागले अमेरिकी कम्पनीहरूलाई एनएसओसँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । सोही महिना एप्पलले एनएसओ विरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारलाई अभियन्ता तथा पत्रकारहरूको जासुसी गर्नको लागि सहयोग पुर्‍याएको भन्दै एप्पलले कम्पनी विरुद्ध मुद्दा दायर गरेको थियो ।

अझै पनि कम्पनीका उत्पादनहरूको माग विभिन्न देशका सरकार तथा कानूनी संस्थाहरूमाझ उच्च भएको संस्थाको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४