close

अब ७७ ओटै जिल्ला अदालतमा साइबर अपराधका मुद्दा चलाइने 

टेकपाना टेकपाना

भदौ ८, २०७९ १५:४६

अब ७७ ओटै जिल्ला अदालतमा साइबर अपराधका मुद्दा चलाइने 

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा मात्रै चल्दै आएका साइबर अपराधका मुद्दा अब ७७ ओटै जिल्ला अदालतबाट चलाइने भएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतका मुद्दा अब सबै  जिल्ला अदालतबाट चलाउन सकिने व्यवस्था गर्न लागिएको महान्यायाधीवक्ता खम्मबहादुर खातीले बताए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधबार आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

उपत्यका स्तरीय अपराध अनुसन्धान गोष्ठीमा बोल्दै उनले केही नेपाल ऐन संसोधन गर्न बनेको ऐन, २०७५ लाई संसोधन गरी साइबर अपराधका मुद्दामा सहजीकरण गर्न लागिएको बताए ।

“त्यसका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढिसकेको छ,” उनले भने, “अनुसन्धान अधिकृत, सरकारी वकिलको कार्यालय र सर्वसाधारणबाट आएका सुझावहरूको आधारमा जतिसक्दो चाँडो ७७ ओटै जिल्ला अदालतमा साइबर अपराधका मुद्दा चलाउनुपर्ने निष्कर्ष निस्किएको छ ।”

त्यस्तै साइबर अपराधका मुद्दाको अनुसन्धानलाई थप प्रमाणमुखी बनाएर काम गर्न तालिमको आवश्यकता रहेको औँल्याउँदै उनले त्यसो हुन सके थप प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३