काठमाडौं । एप्पलले गत बुधबार आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । यी फोनमा परिष्कृत क्यामेरा, स्याटलाइट कनेक्टिभिटी, अलवेज-अन स्क्रिन र अन्य थुप्रै फिचर समावेश छन् ।
अन्तर्राष्ट्रिय बजारमा यी फोन आजदेखि प्रि-अर्डर गर्न सकिने भएको छ । आईफोन १४, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सेप्टेम्बर १६ र आईफोन १४ प्लस अक्टोबर ७ देखि उपलब्ध हुनेछ ।
एप्पलले हरेक वर्ष आईफोनको नयाँ सिरिज सार्वजनिक गरेसँगै केही पुरानो मोडेलको बिक्री बन्द गर्दै आइरहेको छ ।
यस वर्ष पनि एप्पलले चार ओटा मोडेलको बिक्री बन्द गरेको छ । यसको अर्थ अब भने ती मोडेललाई एप्पलका स्टाेरबाट खरिद गर्न सकिने छैन ।
यी हुन् एप्पलले बिक्री बन्द गरेका मोडेलहरू
- सन् २०१९ मा सार्वजनिक भएको आईफोन ११
- सन् २०२० मा सार्वजनिक भएको आईफोन १२ मिनि
- सन् २०२१ मा सार्वजनिक भएको आईफोन १३ प्रो
- सन् २०२१ मा सार्वजनिक भएको आईफोन १३ प्रो म्याक्स
यी फोनहरूलाई एप्पलबाट आधिकारिक रूपमा खरिद गर्न सकिने छैन । थर्ड पार्टी बिक्रेताले भने यी मोडेललाई आफ्नो स्टोरबाट केही समयसम्म बिक्री गर्न सक्नेछन् ।
यी आईफोन मोडेलमात्र एप्पलबाट खरिद गर्न सकिन्छ
- आईफोन १४ प्रो म्याक्स
- आईफोन १४ प्रो
- आईफोन १४ प्लस
- आईफोन १४
- आईफोन १३
- आईफोन १३ मिनि
- आईफोन १२
- आईफोन एसई
यदि तपाईँसँग एप्पलले बिक्री बन्द गरेका मोडेलहरू छन् भने उक्त मोडेलमा केही वर्षसम्म मात्र अपडेट उपलब्ध हुनेछ ।
किनभने एप्पलले केही वर्षअघि बिक्री बन्द गरेको आईफोन ८ र आईफोन ८ प्लसमा अहिले पनि अपडेट उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
