close

फ्याक्टचेक: बालेनले भारतलाई चेतावनी दिएपछि चिया उद्योग खुलेको भन्दै फैलिएको दाबी भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

असार १३, २०८३ १७:४९

फ्याक्टचेक: बालेनले भारतलाई चेतावनी दिएपछि चिया उद्योग खुलेको भन्दै फैलिएको दाबी भ्रामक

काठमाडौं । शुक्रबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा एउटा दाबी भाइरल भइरहेको छ- “प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतसँग सिधै कुरा गर्दै ‘अवरोध गरे अर्को बजार खोज्छौँ’ भनेपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालनमा आए ।” केही समयअघि बन्द भएका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालन भएको सन्दर्भ पारेर यस्तो दाबी फैलाइएको हो । 

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट यो दाबी भ्रामक देखिएको छ । चिया उद्योगहरू बन्द भएको र पछि सञ्चालनमा आएको कुरा सत्य भए तापनि, यसमा प्रधानमन्त्री बालेनले भारतसँग सिधा वार्ता गरेको भन्ने दाबी निराधार छ ।

तत्कालका लागि नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले विशेष कार्यदल गठन गरी समस्या समाधानको आश्वासन दिएपछि र स्थानीय तहले तयारी चिया सुरक्षित भण्डारणका लागि आवश्यक स्थानको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि बन्द चिया उद्योगहरू पुनः सञ्चालनमा आएका हुन् । यसका साथै, उद्योग बन्द हुँदा हरियो पत्ती नष्ट भई किसान र मजदुरले बेहोर्नु परेको ठुलो आर्थिक नोक्सानी रोक्न र बजार सहज नहुन्जेलसम्मका लागि किसानको भुक्तानी थाती राख्ने आपसी सहमति जुटेकाले पनि उद्योग सुरु भएका हुन् । यसमा बालेन वा प्रधानमन्त्री कार्यालयले भारतसँग सोझै केही वार्ता वा छलफल गरेको होइन । 

दाबी

शुक्रबार, २७ जुन २०२६ बिहान १०ः४९ बजे ‘Janaboli TV’ नामक फेसबुक पेजले एक राख्यो । उक्त पोस्टको पोस्टरमा लेखिएको थियो, “प्रधानमन्त्री बालेनले नै भारतसँग सिधा कुरा गरेर गरेर नत्र अर्को बजार खोज्छौं भनेपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालन ।” माथि क्याप्समा पनि त्यही टेक्स्ट कपी राखिएको छ । जहाँ लखिएको छ, “प्रधानमन्त्री बालेनले नै भारतसँग सिधा कुरा गरेर नत्र अर्को बजार खोज्छौ भनेपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालन

काठमाडौँ । नेपालमा धमाधम बन्द भएका चिया उद्योगहरु पुनः सञ्चालनमा आएका छन् । असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरु फेरि सञ्चालनमा आइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतले चिया निर्यातमा गरेको कडाइका कारण बन्द भएका उद्योगहरु नेपाल सरकारले उद्योगीका समस्या विशेष कार्यदल गठन गरेर समाधान गर्ने आश्वासन दिएसँगै बन्द भएका झापाका ३० वटा सीटीसी चिया उद्योगहरु पुनः सञ्चालनमा आएका हुन् । 

चिया उद्योगीहरुको समस्याप्रति प्रधानमन्त्रीले नै चासो देखाएपछि बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने आश्वासन दिएको थियो । प्रधानमन्त्रीले नै समस्याप्रति चासो व्यक्त गरेपछि समस्या समाधान हुने आशमा उद्योग पुनः सञ्चालन गरेको उद्योगीहरुले बताएका छन् । उद्योगीका अनुसार भारतको चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ मापदण्ड (एसओपी) लागू गरेपछि नेपाली चियाको निर्यात प्रभावित बनेको थियो । प्रधानमन्त्री बालेनले नै भारतको बोर्डका पदाधिकारीसँग सिँधा कुरा गरेका छन् । तपाईहरु आयात गर्नुहुन्न भने हामी तेस्रो बजार खोज्छौ भनेपछि तत्कालै समस्या समाधान हुने आश्वासन दिइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली चियालाई अरु विश्वबजारमा फैलाउनेगरी कुटनीटिक र व्यवसायीक दुबै छलफल विश्वभरका देशहरुसँग चलाउनपनि सम्बन्धित मन्त्रालयलाई भनिसकिएको छ ।” 

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८९०० बढी रियाक्सन आएका छन् भने २३२ कमेन्ट आएका छन् । उक्त पोस्ट १७९ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

अनुसन्धान

सामाजिक सञ्जाल प्रयोगकर्ताले टेकपाना फ्याक्टचेक डेस्कलाई मेन्सन गर्दै यस विषयमा तथ्यजाँचका लागि अनुरोध गरेका थिए । यसको तथ्यजाँचका लागि हामीले कीवर्ड सर्च विधिमार्फत ‘प्रधानमन्त्री’, ‘बालेन’, ‘भारत’ जस्ता शब्दहरू खोजेर हेर्‍यौँ। त्यस क्रममा ‘Greater Nepal TV’ नामको फेसबुक पेजले पनि ‘जनबोली टिभी’ कै दाबीलाई बढावा दिएको पाइयो। (हेर्नुहोस्: ओरिजिनल पोस्ट र स्क्रिनशट)

फेसबुकमा ‘पदम सिंह डोबाल’ नामका प्रयोगकर्ताले पनि सोही दाबी प्रस्तुत गरेका छन्। (हेर्नुहोस्: ओरिजिनल पोस्ट र स्क्रिनशट)

त्यसैगरी, ‘Himalaya Dainik’ नामको फेसबुक पेजमा पनि यो दाबी पोस्ट गरिएको पाइयो। (हेर्नुहोस्: ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट)

यसबारे तथ्यजाँच गर्न हामीले गुगल एड्भान्स सर्चमार्फत पछिल्लो समय चिया उद्योग सञ्चालनमा आएका विषयमा विश्वसनीय सञ्चार माध्यममा प्रकाशित समाचार अध्ययन गर्‍यौँ । त्यस क्रममा गोरखापत्र, इकान्तिपुर, अन्नपूर्ण पोस्ट, अनलाइनखबर, सेतोपाटी लगायतका सञ्चार माध्यममा यससम्बन्धी समाचार प्रकाशन भएको पाइयो । 

ती समाचार अनुसार, भारतले चिया निर्यातमा खडा गरेको अवरोध र नयाँ मापदण्ड (एसओपी) का कारण बन्द भएका नेपाली चिया उद्योग मुख्यतया सरकारको आश्वासन र स्थानीय तहसँगको सहमतिपछि पुनः सञ्चालनमा आएका हुन् ।

चिया निर्यातका प्राविधिक तथा व्यापारिक समस्या समाधान गर्न सरकार र प्रधानमन्त्रीको सचिवालयले विशेष कार्यदल गठन गरेको र मन्त्रीस्तरबाट मौखिक आश्वासन प्राप्त भएको उल्लेख छ । साथै, सूर्योदय नगरपालिका लगायतका स्थानीय तहले एक सिजनमा उत्पादन हुने करिब ३० लाख किलोग्रामसम्मको तयारी चिया सुरक्षित भण्डारणका लागि व्यवस्थित कक्ष मिलाउने प्रतिबद्धता जनाएका छन् ।

यसका साथै उद्योग बन्द हुँदा हरियो चियापत्ती बगानमै बिग्रिएर दैनिक करिब २ करोड र १० दिनमा १० करोड रुपैयाँसम्मको नोक्सानी भइरहेको थियो । त्यसैले १ लाखभन्दा बढी मजदुर र ३० हजार किसानको आर्थिक हित रक्षाका लागि थप क्षति हुन नदिन उद्योग खोल्नु आवश्यक देखिएको थियो । अन्ततः बजार सहज नहुन्जेल उत्पादित चिया गोदाममै भण्डारण गर्ने र त्यतिन्जेलसम्मका लागि किसानको भुक्तानी उद्योगीले तत्काल नगर्ने आपसी सहमति जुटेपछि उद्योग पुनः सञ्चालनमा आएका हुन् ।

यी समाचार माध्यममा कतै पनि प्रधानमन्त्री शाहले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भारतीय अधिकारीसँग कुरा गरेको उल्लेख गरिएको छैन । अन्य कुनै पनि विश्वसनीय सञ्चार माध्यमले पनि यस्तो दाबी पुष्टि गर्ने समाचार प्रकाशन गरेका छैनन् ।

यो सामग्री पहिलो पटक फैलाउनेमध्येको एक ‘जनबोली टिभी’ नामक फेसबुक पेजले यसअघि पनि पटक-पटक भ्रामक सामग्री पोस्ट गर्ने गरेको टेकपाना फ्याक्टचेक डेस्कको निष्कर्ष छ ।

वास्तवमा भारतीय बजारमा नेपाली चिया निर्यातमा लगाइएको नयाँ प्रक्रियागत अवरोधका कारण निर्यात ठप्पजस्तै बनेपछि पूर्वी नेपालका चिया उद्योग १ असारदेखि बन्द हुन थालेका थिए । तर, सरकारको आश्वासनपछि ११ देखि ती उद्योग पुनः सञ्चालनमा आउन थालेका हुन् । सामाजिक सञ्जालमा भाइरल दाबीमा भनिएजस्तो नेपाल पक्षले भारतीय अधिकारीलाई ‘हामी तेस्रो बजार खोज्छौँ’ भनी जवाफ दिएको कुनै आधिकारिक तथ्य भेटिँदैन ।

दाबी

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतसँग सिधा कुरा गरी ‘नत्र अर्को बजार खोज्छौँ’ भनेपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालनमा आएका हुन् ।

दाबीकर्ता

‘Janaboli TV’, ‘Greater Nepal TV’, ‘Himalaya Dainik’ नामक फेसबुक पेज र ‘पदम सिंह डोबाल’ लगायत अन्य ।

तथ्य

उद्योग बन्द र सञ्चालन भएको सन्दर्भ: भारतले चिया निर्यातमा नयाँ मापदण्ड (एसओपी) लागु गरी कडाइ गरेपछि पूर्वी नेपालका चिया उद्योग बन्द भएका र पछि पुनः सञ्चालनमा आएका हुन् । यो भाग सत्य हो ।

सञ्चालनमा आउनुको वास्तविक कारण: चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले विशेष कार्यदल गठन गरी समस्या समाधान गर्ने आश्वासन दिएको थियो । साथै, सूर्योदय नगरपालिका लगायतका स्थानीय तहले तयारी चिया सुरक्षित भण्डारणका लागि स्थान व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सरोकारवालाको सहमति: किसान र मजदुरको दैनिक आर्थिक नोक्सानी रोक्न तथा बजार सहज नहुन्जेलसम्मका लागि उत्पादित चिया गोदाममै राख्ने र किसानको भुक्तानी तत्कालका लागि थाती राख्ने आपसी सहमति जुटेपछि उद्योग सञ्चालन भएका हुन् ।

प्रधानमन्त्रीको भूमिका: प्रधानमन्त्री वा उनको कार्यालयले भारतीय अधिकारीसँग सिधा वार्ता गरेको वा ‘अर्को बजार खोज्ने’ भनी चेतावनी दिएको कुनै पनि आधिकारिक वा विश्वसनीय प्रमाण भेटिएको छैन । तर, कार्यालयले कार्यदल गठन गर्नुका साथै यो समस्या समाधान गर्ने आश्वासन दिएको थियो ।

निष्कर्ष

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतसँग सिधा वार्ता गरी चेतावनी दिएकै कारण चिया उद्योग सञ्चालनमा आएका हुन् भन्ने दाबी अतिरञ्जित र भ्रामक छ । उद्योगहरू सरकारी कार्यदलको गठन, स्थानीय तहको सहयोग र किसान-उद्योगीबीचको आपसी सहमतिका कारण पुनः सञ्चालनमा आएका हुन् ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८३ १७:५१