close

आईफोन १३ भन्दा के कति फरक छ आईफोन १४ ?

टेकपाना टेकपाना

भदौ २५, २०७९ ९:३

आईफोन १३ भन्दा के कति फरक छ आईफोन १४ ?

काठमाडौं । एप्पलले गत बुधबार आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । यस वर्ष आईफोन १४ सिरिजमा ‘मिनी’ मोडेल हटाइएको छ । उक्त मोडेलको ठाउँमा कम्पनीले आईफोन १४ प्लस सार्वजनिक गरेको छ ।

आईफोन १३ भन्दा के कस्ता कुरामा आईफोन १४ फरक छ भन्ने कुराको जिज्ञासा धेरैलाई लागेको हुन सक्छ । तुलनात्मक हिसाबमा कुन सिरिजमा कस्ता फिचर छन्, मूल्य कस्तो छ उक्त सिरिजबीचको भिन्नताबारे यहाँ जानकारी दिँदै छौँ ।

मूल्यको तुलना गर्ने हो भने ५१२ जीबी भेरियन्टको आईफोन १३  ५१२ जीबी भेरियन्टकै आईफोन १४ को मूल्यमा १०० डलरको भिन्नता रहेको छ । अन्य मोडेलको मूल्य भने स्टोरेज अनुसार समान रहेको छ ।

स्टोरेजको सन्दर्भमा आईफोन १३ र आईफोन १४ सिरिजमा कुनै भिन्नता रहेको छैन । आईफोन १३ र आईफोन १३ मिनी भर्जनमा ४ जीबी र्‍याम रहेको छ भने आईफोन १४ र आईफोन १४ प्लसमा पनि ४ जीबी नै र्‍याम रहेको छ ।

त्यसैगरी आईफोन १३ प्रो र प्रो म्याक्स मोडेलमा झैँ आईफोन १४ प्रो र प्रो म्याक्स मोडेलमा ६ जीबी र्‍याम रहेको छ । यी दुवै सिरिजमा थुप्रै समान फिचरहरू रहेका छन् ।

आईफोन १४ मा भने ‘इमर्जेन्सी एसओएस भिया स्याटलाइट’ फिचर थपिएको छ । जसका माध्यमबाट नेटवर्क नहुँदा पनि स्याटलाइटका माध्यमबाट एसएमएस पठाउन र पाउन सकिन्छ । यो फिचर आईफोन १३ सिरिजका कुनै मोडेलमा पनि उपलब्ध छैन ।

आईफोन १३ का सम्पूर्ण मोडेलमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । तर, आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलमा भने ४८ मेगापिक्सेलको मुख्य क्यामेरा समावेश छ ।

आईफोन १४ को बेस मोडेल र प्लस मोडेलमा भने आईफोन १३ जस्तै १२ मेगापिक्सेलको क्यामेरा रहेको छ । आईफाेन १४ को प्रो मोडेलको चौडाइ अन्य मोडेलभन्दा बढी भएकाले क्यामेरा त्यति बाहिर आएको छैन ।

त्यसै चिपसेटको कुरा गर्नुपर्दा आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलमा मात्र ए१६ बायोनिक चिपसेट समावेश छ । आईफोन १४ को बेस मोडेल र प्लस मोडेलमा भने आईफोन १३ सिरिजमा प्रयोग भएको ए १५ बायोनिक चिप समावेश छ ।

आईफोन १४ को प्रो मोडेलको तौल आईफोन १३ को तुलनामा २ ग्राम बढी रहेको छ भने आईफोन १३ को तौल आईफोन १४ भन्दा २ ग्राम बढी छ । प्रो म्याक्स मोडेलमा भने दुवैको तौल समान अर्थात् २४० ग्राम रहेको छ ।

आईफोन १४ प्लस सबै फोनभन्दा भिन्नै छ । उक्त मोडेलको तौल २०३ ग्राम रहेको बताइएको छ । त्यस्तै डिस्प्लेमा रहेको नचको कुरा गर्नु पर्दा आईफोन १४ को प्रो ममोडेलले पिल (क्याप्सुल) आकारको नच पाएको छ, जसले तुलनात्मक हिसाबले अन्य मोडेलभन्दा डिस्प्लेको कम भाग ओगटेको छ ।

आईफोन १४ र १४ प्लसमा भने आईफोन १३ सिरिजको जस्तै नच प्रयोग भएको छ । कम्पनीले कुन मोडेलको कति क्षमता छ भन्ने कुरा हालसम्म खुलाएको छैन ।

डिस्प्लेको कुरा गर्नुपर्दा आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा क्रमशः ६.१ इन्च र ६.७ इन्चको सुपर रेटिना एक्डडीआर ओएलईडी डिस्प्ले रहेको छ  । उक्त मोडेलमा प्रो-मोसन डिस्प्ले प्रविधि रहेको छ । यसमा १ देखि १२० हर्जसम्मको रिफ्रेस रेट रहेको छ । जुन आईफोन १३ को प्रो र प्रो म्याक्स मोडेलको तुलनामा सुधारिएको मानिन्छ ।

आईफोन १३ को प्रो र प्रो म्याक्स मोडेलको रिफ्रेस रेट १० देखि १२० हर्ज रहेको छ । त्यस्तै आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलमा अलवेज अन डिस्प्लेको विकल्प रहेको छ । जसले गर्दा फोन लक भएकै अवस्थामा पनि स्क्रिनमा नोटिफिकेसन, समय र मौसमको जानकारी हेर्न सकिन्छ ।

यो फिचर विशेषगरी एप्पल वाचमा बढी प्रयोग भएको पाइन्थ्यो । आईफोन १४ को बेस मोडेल र प्लस मोडेलमा भने आईफोन १३ जस्तै क्रमशः ६.१ इन्च र ६.७ इन्च डिस्प्ले रहेको छ । उक्त ओएलईडी डिस्प्लेको रिफ्रेस रेट ६० हर्ज रहेको छ ।

यी दुुई मोडेलमा भने अलवेज-अन डिस्प्लेको विकल्प छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३