close

दुई महिनामै १ लाख भारतीयले किने नथिङ स्मार्टफोन

टेकपाना टेकपाना

भदौ ३०, २०७९ ९:२६

दुई महिनामै १ लाख भारतीयले किने नथिङ स्मार्टफोन

काठमाडौं । पारदर्शी ब्याककभर र आईफोनको जस्तो आवरणले गर्दा चर्चा पाएको नथिङ ब्रान्डको पहिलो स्मार्टफोन ‘नथिङ फोन वान’ले भारतमा आकर्षक बजार पाएको छ ।

गत जुलाई २१ मा सार्वजनिक भएको ‘फोन वान’ले दुई महिनाभन्दा पनि कम समयमा एक लाख बढी फोन बिक्री गरेको छ । नथिङले भारतमा फ्लिपकार्टसँग सहकार्य गरेर स्मार्टफाेन बिक्री गरेको हो ।

जीएसम एरेनासँग कुरा गर्दै नथिङका उपाध्यक्ष मनु शर्माले अगस्टको अन्तिमसम्म नथिङ फोन वानका एक लाख बढी प्रयोगकर्ता भएको जानकारी दिएका छन् ।

नथिङ ब्रान्डले फोन उपलब्ध गराएको २० दिनमा नै फ्लिपकार्टमार्फत एक लाख बढी फोन बिक्री गर्न सफल भएको थियो । त्यस्तै उनले नथिङ फोन वान फ्लिपकार्टमा वेस्ट सेलिङ फोनको सूचीमा परेको समेत जानकारी दिएका छन् ।

उक्त फोनको मूल्य भारतीय बजारमा २० हजार रूपैयाँ रहेको छ । उक्त फोनका प्रयोगकर्ता अझ बढी हुने अपेक्षा गरिएको छ । किनभने फोन वान सार्वजनिक भएको जानकारी लिन फ्लिपकार्टमा एक करोड बढी प्रयोगकर्ताले ‘नोटिफाई मी’ अप्सन अन गरेका छन् ।

त्यस्तै कम्पनी चाँडै नै नथिङ अपरेटिङ सिस्टम (ओएस) १.१.४ सफ्टवेयर अपडेट गर्ने तयारी गरिरहेको छ ।

नेपालमा भने ३०० डलरभन्दा माथिको फोनमा प्रतिबन्ध लागेका कारण नथिङले नेपाललाई आफ्नो बजारको सूचीमा समावेश गरेको थिएन ।

यो फोन हालसम्म पनि आधिकारिक रूपमा नेपाली बजारमा उपलब्ध छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४