close

फेसबुक पेजमार्फत सस्तोमा आईफोन १३ प्रो पाइने प्रलोभन देखाएर ठग्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १४:२५

फेसबुक पेजमार्फत सस्तोमा आईफोन १३ प्रो पाइने प्रलोभन देखाएर ठग्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत सस्तोमा आईफोन उपलब्ध गराउने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

फेसबुकमा ‘टी मोबाइल स्टोर’ पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाइन ठगी गरेको आरोपमा प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका ११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई बुधबार पक्राउ गरेको हो ।

चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य एक लाख १५ हजार रुपैयाँमा उपलब्ध गराउने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोप छ ।

उनले  पीडितलाई भन्सार दस्तुर, डेलिभरी चार्ज बापत बिभिन्न ब्यक्तिको ईसेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको बताइएको छ ।

उक्त घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले चौधरीलाई काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई ठगी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४