close

एकाएक गायब भए मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक फलोअर

टेकपाना टेकपाना

असोज २६, २०७९ ११:२४

एकाएक गायब भए मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक फलोअर

काठमाडौं । फेसबुकको एक बग (सुरक्षा कमजोरी) का कारण रातारात लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर गायब भएका छन् । बुधबार बिहानबाट चर्चित प्रयोगकर्ताका फलोअरको सङ्ख्या एकाएक घट्न थालेका हुन् ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गकै फलोअर ११ करोड ९० लाखबाट घटेर रातारात ९,९९५ (यो सङ्ख्या घट्ने बढ्ने भइरहेको छ) मा सीमित भएका छन् । त्यस्तै अन्य प्रयोगकर्ताको फेसबुक प्रोफाइलबाट पनि लाखौँको सङ्ख्यामा रहेका फलोअर घटेर ९ हजारको हाराहारीमा खुम्चिन थालेका छ ।

फेसबुक पेजको फलोअरको सङ्ख्यामा भने त्यस्तो समस्या देखिएको छैन । यसबारे सामाजिक सञ्जाल ट्वीटरमा थुप्रै प्रयोगकर्ताले आफ्नो फलोअर गुमेको गुनासो पोखेका छन् ।

यति मात्र होइन यस्ता फेसबुक प्रोफाइल समेत नखुल्ने समस्या कतिपयले भोगिरहेका छन् । यसको वास्तविक कारण के हो भन्ने कुरा हालसम्म आधिकारिक तवरमा बाहिर आइसकेको भने छैन ।

विश्लेषकहरूले बगका कारण यस्तो समस्या देखिएको हुन सक्ने बताए पनि वास्तविक रूपमा कुन बगले गर्दा यस्तो भएको भन्ने यकिन हुन बाँकी छ । यसबारे फेसबुकको अभिभावक कम्पनी मेटाले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २६, २०७९ ११:३३