close

सामाजिक सञ्जालबाट गायब भए भिटेन

टेकपाना टेकपाना

कात्तिक २, २०७९ १२:२७

सामाजिक सञ्जालबाट गायब भए भिटेन

काठमाडौं । नेपाली र्यापर भिटेन (समिर घिसिङ) ले आफ्नो युट्युब च्यानलबाट सबै भिडिओ हटाएका छन् । पछिल्लो समय विभिन्न आलोचना खेपिरहेका भिटेन मंगलबारदेखि सामाजिक सञ्जालबाट गायब छन् ।

उनको आधिकारिक युट्युब च्यानल 'भिटेन म्युजिक' मा बिहान एउटा भिडिओमात्र छ । अन्य भिडिओ हटाइएका हुन् वा हाइड गरिएको हो भन्ने विषयमा कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । गत साता जापानमा उनले कन्सर्टमा गरेको हर्कतले गर्दा सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।

उक्त कन्सर्टमा बियरको बोतलले आफ्नो टाउकोमा हान्दै अब कहिल्यै कन्सर्ट नगर्ने बताएका थिए । असोज २४ गते जापानमा भएको उक्त कन्सर्टको हर्कतपछि उनलाई मानसिक रोगी भएको भन्दै आलोचना गरिएको थियो । साेही आलोचनाका कारण उनी सामाजिक सञ्जालबाट गायब भएको हुनसक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय टुरमा रहेका भिटेन अहिले कहाँ के गर्दै छन् भन्ने कुराको कुनै जानकारीसमेत छैन । १७ लाख बढी सब्स्क्राइबर भएको उनको आधिकारिक युट्युब च्यानलमा हाल १३ दिनअघि सार्वजनिक भएको उनको 'आफ्नै बाटो' नामको गीतमात्र रहेको छ ।

त्यस्तै उनले आफ्नो फेसबुक पेज डिलिट गरेका छन् । इन्स्टाग्राम प्राेफाइलमा पनि दुई ओटा फोटोमात्र रहेका छन् । अन्य फोटो भने हाइड गरिएको आशंका छ ।

'चुरोट' नामक नेपाली गीतबाट चर्चामा आएका र्यापर भिटेन समय-समयमा आलोचना तथा चर्चामा आइरहन्छन् । 

अपडेटः भिटेनको युट्युब च्यानलमा अपलोड भएका भिडिओ पुनः सार्वजनिक रूपमा उपलब्ध भएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ ७:५९