close

धेरै मानिसले रिपोर्ट गर्दैमा के फेसबुक पेज बन्द हुन्छ ?

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १३:४७

धेरै मानिसले रिपोर्ट गर्दैमा के फेसबुक पेज बन्द हुन्छ ?

काठमाडौं । हामीमध्ये धेरैलाई लाग्न सक्छ, मन नपरेको फेसबुक पेजलाई धेरै मानिसले रिपोर्ट गरे उक्त पेज बन्द हुन्छ । तर फेसबुकले 'मास रिपोर्ट'कै आधारमा पेज ब्लक वा बन्द गर्दैन । यो कुराको जानकारी हालै मेटाका अधिकारीले दिएका हुन् ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फेसबुकको अभिभावक कम्पनी मेटालाई पत्रकारलाई तालिम दिन अनुरोध गरेको थियो ।

सोही अनुरोधअनुसार बिहीबार भएकाे एक अनलाइन तालिममा मेटाका साइबर सुरक्षा विज्ञ भुमे भुमिरतनाले फेसबुकमा मास रिपोर्टको कुनै प्रभाव नपर्ने जनाएका छन् ।

मिरतना भन्छन्, ''पोस्ट गलत छैन भने मास रिपोर्टको कुनै प्रभाव पर्दैन । त्यस्तै तपाईँले पनि धेरै पटक रिपोर्ट गर्नुभयो वा एक पटक रिपोर्ट गर्नुभयो, यी दुवै अवस्थामा रिपोर्टको समान प्रभाव पर्छ। । यदि कन्टेन्ट अस्वाभाविक छ भने मेटाले त्यसमा एक्सन लिन्छ ।”

यदि फेसबुक पेज मेटाको नियत विपरीत गएको छ भने एउटै रिपोर्टले पनि फेसबुक पेजमा प्रभाव पर्नसक्छ । त्यस्तै प्रयोगकर्ताले रिपोर्ट गरेका कुरा पूर्णरूपमा गोप्य रहने उनले जनाए ।

फेसबुक वा इन्स्टाग्राममा भएका कुनै पनि अस्वाभाविक कन्टेन्ट रिपोर्ट गर्न सकिने भुमिरतनाको भनाइ छ । त्यस्तै रिपोर्ट गर्दा उक्त कन्टेन्ट हटाउने वा नहटाउने भन्ने कुराको निर्णय पनि प्रयोगकर्ताले दिनसक्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १५:४९