काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा रहेका 'नो नट अगेन' नामका विभिन्न पेज र ग्रुप हटाउन निर्देशन दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले त्यस्ता पेज तथा ग्रुप तत्कालै हटाउन निर्देशन दिएको हो ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएसँगै सामाजिक सञ्जालमा 'नो नट अगेन' नामका पेज सक्रिय भएका थिए । त्यस्ता पेजले विभिन्न पटक सांसद बनेका, मन्त्री भएका व्यक्तिको फोटो राख्दै 'अब स-सम्मान बिदाइ गरौँ' भन्दै पोस्ट गर्ने गर्थे ।
यही विषयलाई लिएर निर्वाचन आयोग भन्छ, "मंसिर ४ गते आइतबार एकै चरणमा सम्पन्न हुने गरी तोकिएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा "No, Not Again", "NO NOT AGAIN" र "No. Not again" नाम भएका फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।"
झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरू विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसूर तथा सजाय ऐन. २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ङ) को प्रतिकूल रहेको भन्दै आयोगले त्यस्ता पोस्ट तत्कालै हटाउन निर्देशन दिएको छ ।
उल्लेखित कसूर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको पनि आयोगले उल्लेख गरेकाे छ ।
आयोगले त्यस्ता फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाई अब उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ ।