काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्कले ट्वीटर खरिद गरेपछि अहिले यो निकै चर्चाकाे विषय बनेको छ । विशेषगरी उनले ट्वीटरलाई अघि बढाउन अपनाएका रणनीतिले चर्चा कमाइरहेको छ ।
याेसँगै ट्वीटर छोड्नेहरूको सङ्ख्या पनि बढ्दाे छ । मस्कको स्वामित्वमा ट्वीटर आएपछि हलिउडका केही चर्चित कलाकारले याे प्लेटफर्मबाट सधैंका लागि बिदा लिएका छन् । त्यस्तै अहिले एलन मस्ककी पूर्वप्रेमिका एम्बर हर्डले ट्वीटर अकाउन्ट डिलिट गरेको कुराले चर्चा पाएको छ ।
उनको नाममा रहेको आधिकारिक ट्वीटर अकाउन्ट सर्च गर्दा, 'यो अकाउन्ट अस्तित्वमा छैन,' भन्ने सन्देश देखिन्छ । यसको अर्थ उक्त युजरनेममा भएको ट्वीटर ह्याण्डल छैन वा डिलिट गरिएको छ भन्ने बुझिन्छ । हर्ड अहिले ५३ लाख फलोअर भएको इन्स्टाग्राम प्राेफाइलमा एक्टिभ छिन् ।
मस्कसँगको सम्बन्धका कारण एक्टिभ हर्डले ट्वीटर अकाउन्ट डिलिट गरेको धेरैको आशंका गरिएकाे छ । हर्डले सन् २०१७ मा जोनी डिपसँग सम्बन्धविच्छेद गरेकी थिइन् । त्यो भन्दा एक वर्षअघिबाट मस्क र हर्डबीच प्रेम सम्बन्ध रहेको हल्ला चलेकाे थियाे ।
ट्वीटरले नयाँ मालिक पाएपछि याे प्लेटफर्मबाट हट्नेहरूको सङ्ख्या बढ्दो छ । मस्कले ट्वीटरमा अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिने खबरले थुप्रै सेलिब्रेटी ट्वीटरबाट गायब भइरहेका छन् ।