close

यस्तो छ विश्वकपमा खेलाउन लागिएको नयाँ बल

टेकपाना टेकपाना

मंसिर २६, २०७९ १७:१६

यस्तो छ विश्वकपमा खेलाउन लागिएको नयाँ बल

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ करिब अन्त्यतिर आइपुगेको छ । अब विश्वकपमा चार खेलमात्र बाँकी छन् । सेमिफाइनलसम्म आइपुग्दा विश्वकप फुटबलले विभिन्न आलोचना, विवाद र प्रशंसाको सामना गरेको छ ।

यस विश्वकपमा सबैभन्दा आकर्षणको पक्ष त्यहाँ प्रयोग हुने नयाँ प्रविधियुक्त बल बनेको छ । तर, फिफाले सेमिफाइनलका लागि नयाँ बल 'अल हिल्म (Al Hilm)' सार्वजनिक गरेको छ । यस बलले पनि 'अल रिह्ला' बलजस्तै मोसन प्रविधि जोडेको छ । तर, यो बल अल रिह्लाको तुलनामा थप स्तरीय भएको फिफाको दाबी छ ।

बलको आईएमयू (इनर्सिया मेसजरमेन्ट युनिट) सेन्सरले बलको डेटा क्याप्चर गर्छ, जसलाई आर्टिफियसल इन्टेलिजेन्सको सहायताले सेमि-अटोमेटेड अफसाइड प्रविधिमा प्रयोग गरिन्छ । र, बल अफसाइड भए/नभएको पत्ता लगाइन्छ ।

त्यसका साथै यो बलले पिच (मैदान)भित्र खेलाडीले बललाई छुँदा प्रति सेकेन्ड पाँच सय बढी डेटा भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) टिमलाई पठाउँछ । यसरी बलमा भएको उक्त सेन्सरले खेलमा भएका हरेक गतिविधिलाई नियमन गरिरहेको हुन्छ ।

अल हिल्म बलको स्वर्ण रङ्ग र त्यसको डिजाइनले दोहा सहरको मरुभूमिलाई दर्शाएको छ । त्यस्तै बलमा प्रयोग भएको मरून रङ्गले कतारको झन्डालाई संकेत गरेको छ । यी सबै प्रविधिमध्ये अहिले चर्चामा आएको अर्को प्रविधि हो, बलमा भएको सेन्सर ।

यसमा प्रयोग भएको नयाँ सेन्सरले खेललाई सटिक, स्तरीय र विश्वसनीय बनाउने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०७९ १७:२८