close

सेवाप्रदायकको बिजुलीको लाइन काटियो, जुनसुकै बेला देशभर इन्टरनेट ठप्प हुनसक्ने

टेकपाना टेकपाना

पुस ८, २०७९ १८:५३

सेवाप्रदायकको बिजुलीको लाइन काटियो, जुनसुकै बेला देशभर इन्टरनेट ठप्प हुनसक्ने

काठमाडौं । समयमा पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकहरूको कार्यालयमा बिजुलीको लाइन कटौती गरेको छ । प्राधिकरणले सुबिसु केबल नेट, क्लासिकटेक तथा भायानेट लगायतका सेवा प्रदायकको कार्यालयहरूमा लाइन काटेको हो । यसले गर्दा ग्राहकहरूले पाउने सेवा प्रभावित हुने कम्पनीहरूको भनाइ छ । यद्यपि इन्टरनेट ठप्प हुन नदिन अहिले सेवा प्रदायकले जेनेरेटरको सहारा लिइरहेका छन् ।  

बक्यौता भाडा रकम तिर्नको लागि प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई पुस ७ गतेसम्मको समय दिएको थियो । सोही समयावधिभित्र बक्यौता भाडा रकम नतिरेको भन्दै प्राधिकरणले सुबिसुको बालुवाटार स्थित डेटा सेन्टर लगायत क्लासिकटेक र भायानेटको पनि विभिन्न स्थानमा बिजुलीको आपूर्ति रोक्का गरेको छ ।      

"आज बिहान १०-११ बजेदेखि नै सुबिसुको मुख्य डेटा सेन्टर बालुवाटारमा बिजुली आपूर्ति रोकिएको छ । अहिलेसम्म जेनेरेटर मार्फत काम गरिरहेकाछौँ । तर जेनेरेटरले धान्न नसकेको खण्डमा देशका विभिन्न स्थानमा कुनै पनि बेला इन्टरनेट बन्द हुने जोखिम छ," इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा अध्यक्ष सुधिर पराजुलीले बताए । 

पुरानो बक्यौता भाडा नतिरेको भन्दै प्राधिकरणले बिजुली आपूर्ति नै रोक्नु निन्दनीय भएको उनको भनाइ छ। प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीचको पोल भाडा विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई वेवास्ता गर्दै प्राधिकरणले आफ्नै दादागिरी गरेको उनले आरोप लगाए । 

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा एकतर्फी रुपमा एकैपटक तीनसय प्रतिशतले बढाएको पोल भाडालाई नै बक्यौता रकम उल्लेख गर्दै प्राधिकरणले सेवा प्रदायकलाई जबरजस्ती रकम तिर्न लगाइएको सेवा प्रदायकको भनाइ छ । कार्यदलको सुझाव अनुसार घटाइएको भाडा दर आफूहरूले तिरिरहेको उनीहरूको दाबी छ तर उल्लिखित दुई वर्षको हकमा भने प्राधिकरणले एकोहोरो भाडा तिर्नको लागि भनिरहेको सेवा प्रदायकको भनाइ छ । 

"सो दुई वर्ष समयको भाडा दर मिलाउने विषयमा गठित कार्यदलले बुझाएको सुझाव अध्ययन गरी आवश्यक कदम चाल्न भनि प्राधिकरणले आफ्नो बोर्डबाट चार सदस्यको कार्यसमिति तयार गरेको छ," पराजुलीले भने, "तर आजसम्म उक्त विषयमा कुनै सुनुवाइ भएको छैन । उल्टो प्राधिकरणले जबरजस्ती रकम तिर्नको लागि सेवा प्रदायकहरूलाई धम्की दिइरहेको छ ।"  

बिहान सुबिसु लगायत अन्य सेवा प्रदायकको कार्यस्थलको बिजुली आपूर्ति बन्द भएपछि यस विषयमा कुरा गर्न जाँदा विद्युत प्राधिकरणले आइतबारसम्म विदा भएको कारण आफूहरूले केही गर्न नसक्ने बताएको पराजुलीले बताए । साथै प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नै भेट्ने प्रयास गर्दा कार्य व्यस्तताले गर्दा भेट नभएको उनले सुनाए । 

लगातार तीन दिने सार्वजनिक सुरु हुनै लाग्दा प्राधिकरणले कुटिलता पूर्वक यो कदम चालेको सेवा प्रदायकहरूको बुझाई छ । यस्तोमा प्राधिकरणले तालुकदार मन्त्रालय र अदालतबाट हुनसक्ने सम्भावित हस्तक्षेप  छल्न खोजेको जस्तो बुझिएको छ ।

यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले भने एक सूचना जारी गर्दै कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था भएको जनाएको छ | विद्युत प्राधिकरणबाट दूरसञ्चार सेवा प्रदायकको विद्युत लाइन सप्लाइ काटिदिएपछि राज्यका धेरै स्थानहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगी बैंकिङ सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु पनि अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।  साथै राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

"हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुँदा सबै पक्ष बसेर आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्बद्ध सम्बन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौ," विज्ञप्‍तिमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: पुस ८, २०७९ १९:२४