काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न विभिन्न विकल्पहरु खुल्ला गरेको छ । कम्पनीले रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा (किओस्क मेसिन) मेसिन, विभिन्न भुक्तानी सेवा प्रदायकका एप, विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिङ सेवाहरु र भिषा/ मास्टर कार्ड लगायतका विकल्पहरु तयार पारेको हो ।
यसैगरी कम्पनीले ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ । तर, अहिले लकडाउनको अवस्थामा कम्पनीको रिचार्ज बिक्री हुने स्थानसम्म पुग्न ग्राहकलाई कठिनाई हुनेभन्दै टेलिकमले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थालाई थप सहज बनाएको छ ।
१. मोबाइल भुक्तानी सेवा तथा किओस्क मेसिन
कम्पनीका आधिकारिक एमपीओएस सेवा प्रदायकहरु (जस्तै : पुस्तक पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसर लगायतका स्थानमा राखिएका किओस्क मेसिन मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहज रुपमा गर्न सकिने छ ।
२. भुक्तानी सेवाप्रदायकका मोबाइल एप
भुक्तानी सेवा प्रदायकहरु (जस्तै : ईसेवा, खल्ती, आइएमई पे लगायत) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजै गर्न सकिने छ ।
३. विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवा
विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवा मार्फत पनि सहजै कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न सकिने भएको छ ।
४. बैंकको भिषा/मास्टर कार्डबाट
चलनचल्तीको भाषामा डेबिट कार्ड, क्रेडिट कार्ड तथा एटीएम कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न सकिन्छ । एटीएम कार्डबाट रिचार्ज गर्ने तरिका यहाँ उल्लखे छ ।
यसका साथै टेलिकमले ब्यालेन्स ट्रान्सफरको व्यवस्थालाई समेत परिमार्जन गरिएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको थियो ।
त्यसलाई परिमार्जन गर्दै कम्पनीले अब एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने बनाएको हो ।
यसकालागि मोबाइलबाट 422*एसकाेड*माेबाइल नम्बर*रकम# डायल गर्नु पर्ने हुन्छ । यसमा उल्लेख गरिएको एसकाेड (सेक्युरिटी कोड) प्राप्त गर्न Scode टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्ने हुन्छ ।
उदाहरणका लागि ब्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१……. मा रु. २०० ट्रान्सफर गर्न 422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्ने हुन्छ । यूएएसडी कोड बाहेक नेपाल टेलिकमको मोबाइल एपबाट पनि पनि ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।