close

समाचारमा इन्स्टाग्रामभन्दा पछाडि पर्‍यो ट्वीटर

टेकपाना टेकपाना

असार ३, २०७७ १२:१

समाचारमा इन्स्टाग्रामभन्दा पछाडि पर्‍यो ट्वीटर

एजेन्सी । प्रयोगकर्ताले कुन सामाजिक सञ्जाललाई बढी विश्वास गर्छन भन्ने विषय सधैं चर्चामै रहन्छ । यो विषयमा धेरै अध्ययन पनि भएका छन् ।

यसैबीच कोरोनाभाइरसको विश्वमहामारीको समयमा कुन सामाजिक सञ्जाललाई समाचार हेर्ने माध्यमको रुपमा बढी प्रयोग गरियो भन्ने विषयमा रोयटर्सले ‘डिजिटल न्युज रिपोर्ट’ सार्वजनिक गरेको छ ।

उक्त अध्ययन अनुसार इन्स्टाग्रामले ट्वीटरलाई समेत पछि पारेको छ । यूके, अमेरिका, जर्मनी, फ्रान्स, स्पेन, आयरल्याण्ड, इटली, डेनमार्क, फिनल्याण्ड, जापान, अष्ट्रेलिया र ब्राजिलमा गरिएको अध्ययन अनुसार सन् २०१८ को तुलनामा इन्स्टाग्रामलाई समाचारको माध्यमको रुपमा लिनेको संख्या दुई गुणा बढेको छ ।

विशेष गरी युवा वर्गमा इन्स्टाग्रामको प्रभाव बढ्दो क्रममा रहेको छ । अध्ययन अनुसार १८ देखि २४ वर्ष उमेर समूहमध्ये तीन चौथाईले इन्स्टाग्रामलाई समाचार स्रोतको रुपमा प्रयोग गर्ने गरेका छन् ।

अध्ययन अनुसार समाचार माध्यमको रुपमा प्रयोग हुने सामाजिक सञ्जालको सूचीमा फेसबुक पहिलो नम्बरमा रहेको छ । यो अवधिमा प्रयोगकर्ताले समाचार स्रोतको रुपमा सबैभन्दा बढी फेसबुकलाई आधार बनाएका छन् ।

त्यस्तै दोस्रो नम्बरमा युट्युव, तेस्रोमा ह्वाट्सएप, चौथोमा फेसबुक म्यासेन्जर रहेको छ । इन्स्टाग्राम पाचौं नम्बरमा हुँदा ट्वीटर भने छैटौं नम्बरमा परेको छ । सन् २०१८ मा भएको अध्ययन अनुसार ट्वीटर इन्स्टाग्रामभन्दा अघि हुने गरेको थियो ।

तर सामाजिक सञ्जालमा आएको समाचारलाई विश्वास गर्नेको संख्या भने न्यून रहेको अध्ययनले देखाएको छ । अध्ययन अनुसार २६ प्रशितले मात्रै सामाजिक सञ्जालमा आएको समाचारलाई विश्वास गर्ने गरेकाछन् ।

अध्ययनअनुसार समाचार स्रोतको रुपमा सामाजिक सञ्जालको तुलनामा सरकारी निकाय र राष्ट्रिय समाचार संस्थाहरुलाई बढी विश्वास गर्ने गरेको देखिएको छ । अध्ययनमा सहभागी मध्ये ५९ प्रशितले यस्ता संस्थाबाट प्रवाह भएको सूचनालाई विश्वास लाग्ने गरेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१