close

मोबाइलको ब्याट्री परीक्षण अब नेपालमै

टेकपाना टेकपाना

असार ३, २०७७ १४:६

मोबाइलको ब्याट्री परीक्षण अब नेपालमै

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ह्याण्डसेटको ब्याट्रीको क्षमता परीक्षण गर्ने भएको छ । नियामकले भर्खरै पारित गरेको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा ब्याट्री परीक्षण गर्ने उपकरण गरीद गर्ने योजना राखिएको हो ।

वार्षिक कार्यक्रम अनुसार यसका लागि ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आगामी कात्तिक मसान्तसम्ममा आवश्यक उपकरण खरीद गरी ब्याट्रीको क्षमता परीक्षण गर्ने कार्यको थालनी गरिने बताइएको छ ।

यद्यपी तालुकदार निकायको रुपमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र प्राधिकरणको वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

त्यसो त नियामकले यो परियोजनाका लागि आवश्यक प्रक्रिया चालु आर्थिक वर्षमै अगाडि बढाएको हो । कम्पनी छनौट गरी परियोजना सम्झौता समेत सम्पन्न भइसकेको भए पनि लकडाउनका कारण सामान आपूर्ति हुन नसकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

‘मोबाइलको टाइप अप्रुभल गर्दा ब्याट्रीको क्षमताको विषयमा प्रश्न उठेको खण्डमा परीक्षण गर्ने सामर्थ नियामकसँग हुनुपर्छ भनेर यस्तो उपकरण राख्न लागिएको हो,’ उनले भने, ‘अहिलेसम्म मोबाइल ब्याट्रीको विषयमा कसैले प्रश्न उठाए त्यसको यकीन गर्ने उपकरण हामीसँग छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१