close

हराएका सवारी दर्ता गर्न ट्राफिक प्रहरीले ल्याउँदैछ नयाँ अनलाइन प्रणाली, आगामी भदौदेखि सञ्चालन हुने

टेकपाना टेकपाना

जेठ ३०, २०८३ ११:३९

हराएका सवारी दर्ता गर्न ट्राफिक प्रहरीले ल्याउँदैछ नयाँ अनलाइन प्रणाली, आगामी भदौदेखि सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएका सवारी साधन दर्ता गर्ने र खोजी कार्यलाई सहज बनाउन नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ । विगत पाँच वर्षअघि सुरु भएर प्रभावकारी हुन नसकेको प्रणालीलाई परिमार्जन गर्दै नयाँ आर्थिक वर्षमा सञ्चालनमा ल्याउन लागिएको हो ।

कार्यालयले असोज २०७७ मा पहिलोपटक अनलाइनबाटै हराएका सवारी साधन दर्ता गर्न सकिने प्रणाली सुरु गरेको थियो । उक्त प्रणालीमा सेवाग्राहीले अनलाइन निवेदन दिएपछि प्राप्त हुने ‘एप्लिकेसन नम्बर’, आफ्नो नाम र सवारी नम्बर राखेर ‘चेक एप्लिकेसन’ मार्फत आफ्नो निवेदनको अवस्था हेर्न सक्ने व्यवस्था थियो । तर, यो प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन सकेन र विस्तारै प्रयोगविहीन बन्यो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्रप्रसाद साहका अनुसार विगतको प्रणाली ‘टु-वे’ (दुईतर्फी) नभई एकतर्फी जस्तो भएकाले प्रयोगमा आउन नसकेको हो । “विगतको प्रणालीमा हाम्रै कर्मचारीले विवरण अपलोड गर्ने र सेवाग्राहीलाई एउटा नम्बर दिएर चेक गर्न भन्ने व्यवस्था थियो । यो प्रणाली सर्वसाधारण अनुकूल भन्दा पनि आन्तरिक प्रणाली जस्तो बढी भयो,” प्रहरी निरीक्षक साहले भने, “सर्वसाधारण आफैले अनलाइनबाट सवारी हराएको विवरण दर्ता गर्ने र प्रहरीले तत्काल प्रमाणीकरण गर्ने व्यवस्था नहुँदा यो प्रभावकारी हुन सकेन ।” हाल यो पुरानो प्रणाली चालु अवस्थामा छैन।

अब आउने नयाँ प्रणालीलाई ‘टु-वे’ मात्र नभई ‘थ्री-वे’ (त्रिपक्षीय) अन्तरक्रियात्मक बनाइने तयारी छ । यसमा सवारी धनी आफैले अनलाइनमार्फत आफ्नो हराएको सवारीको विवरण भर्न सक्नेछन् भने ट्राफिक प्रहरीले त्यसलाई प्रणालीबाटै प्रमाणीकरण (भेरिफाई) गर्नेछ । विवरण भर्दा कुनै गल्ती भएमा आवेदन सिधै अस्वीकृत (रिजेक्ट) नभई सच्याउनका लागि सेवाग्राहीलाई मेसेज जाने प्रणाली विकास गरिएको छ । “सवारीको विवरण भर्दा कुनै क्षेत्रमा त्रुटि भएमा रिजेक्ट गर्नुको सट्टा कुन क्षेत्रमा त्रुटि भएको हो, सो सच्याएर पुनः अपलोड गर्न प्रयोगकर्तालाई म्यासेज जानेछ,” प्रहरी निरीक्षक साहले जानकारी दिए ।

यो प्रणाली सञ्चालनमा आएपछि हराएका सवारी साधन दर्ता गर्न र तिनको खोजीको अवस्थाबारे जानकारी लिन नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ । आगामी भदौ आसपासमा यसलाई पूर्ण रूपमा प्रयोगमा ल्याउने लक्ष्यका साथ काम भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८३ ११:४५