काठमाडौं । फिनल्याण्डको फोन निर्माता कम्पनी नोकियाले अब बजारमा ल्यापटप समेत ल्याउने भएको छ । कम्पनीले यसका लागि आवश्यक सबै तयारी समेत गरिसकेको छ ।
रिपोर्टअनुसार गएको २७ नोभेम्बरमा ब्यूरो अफ इन्डियन स्ट्याण्डर्डस् (बीआईएस) को वेबसाइटमा नोकियाका ल्यापटप देखिएका थिए । जसको आधारमा कम्पनीले चाँडै नै आफ्ना ल्यापटप बजारमा ल्याउने ठानिएको हो ।
यद्पी कम्पनीको तर्फबाट हालसम्म ल्यापटपसँग सम्बन्धित कुनै औपचारिक जानकारी बाहिर आएको छैन । बीआईएस लिस्टिङका अनुसार नोकियाका ल्यापटप चीनमा टोङफेङ लिमिटेडमार्फत निर्माण गराइएका हुन् ।
कम्पनीले नोकिया ब्राण्डको रुपमा नौ वटा ल्यापटप सार्वजनिक गर्ने अनुमान गरिएको छ । जानकारहरुका अनुसार एचएमडी ग्लोबलले नोकिया ब्राण्डका स्मार्टफोन, फिचर फोन र मोबाइल एक्सेसरिजका लागि लाइसेन्स दिएको छ ।
स्ट्रिमिङ डिभाइस, टिभीका साथै अब नोकियाको बाँकी पोर्टफोलियोमा ल्यापटपको छुट्टै लाइसेन्स होल्डरको समेत आवश्यकता छ । कम्पनीका सबै ल्यापटप इन्टेल कोर आई थ्री तथा कोर आईफाइभ प्रोसेसरका साथ सार्वजनिक हुने बताइएको छ ।
यस बाहेक सबै ल्यापटप विण्डोज टेन अपरेटिङ सिस्टमका साथ आउनेछन् । यी ल्यापटपको बारेमा थप अन्य कुनै जानकारी खुलासा भएको छैन । ल्यापटपको मूल्य तथा स्टोरेजको बारेमा समेत हाल कुनै जानकारी प्राप्त भएको छैन ।