आविष्कार केन्द्रले ८० हजारमै तयार पार्यो अन्तर्राष्ट्रिय बजारमा ३ लाख पर्ने आइसोलेसन च्याम्बर
मंसिर २८, २०७७ २२:२
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा सस्तो आइसोलेसन च्याम्बर तयार पारेको छ । केन्द्रले कोरोना भएका तथा आशंका गरिएका बिरामीहरुलाई एक ठाउँदेखि अर्को ठाउँसम्म सुरक्षित रुपमा सार्न मिल्ने आइसोलेसन च्याम्बर निर्माण गरेको हो ।
कोभिड १९ का संक्रमित बिरामीहरुलाई ओसारपसार गर्न अनुमति पाएका दुई एयरलाइन्स मध्ये कैलाश एयरलाइन्सले केही समय अघि तीन लाख रुपैयाँमा चीनबाट ल्याएको आइसोलेसन च्याम्बर केन्द्रले भने ८० हजारमै निर्माण सम्पन्न गरेको निर्माण टोलीका सदस्य तथा मेकानिकल डिजाइनर दीपेन्द्र बस्नेतले टेकपानालाई बताए ।
राष्ट्रिय आविष्कार केन्द्रमै विभिन्न प्रोजेक्टका लागि खटिएका बायोमेडिकल, इलेक्ट्रोनिकल तथा मेकानिकल इंजिनियरहरुको टिमले उक्त च्याम्बर परियोजना सम्पन्न गरेको हो । विदेशी आइसोलेसन च्याम्बरको तुलनामा सस्तो भए पनि यसको गुणस्तरमा भने कुनै पनि सम्झौता नगरिएको बस्नेतले बताए ।
‘सामान्यतया पैसा कम हुँदा गुणस्तर नराम्रो होला भनेर मान्छेहरु बुझ्ने गर्छन्,’ बस्नेत भन्छन्, ‘तर यहाँ त्यस्तो छैन, हामीले प्रारम्भिक चरणबाट नै स्थानीय संसाधन प्रयोग गरेका छौं ।
यहाँकै बायोमेडिकल इंजिनियर तथा चिकित्सहरुसँग पनि परामर्श लिइरहेका छौं । सबै कुरा परीक्षण भइसकेका छन् । गुणस्तरताको कुरामा कुनै सम्झौता गरेका छैनौं ।’
कोभिड १९ को महामारी सुरु भएको तीन महिनापछि थालिएको उक्त परियोजना आवश्यक सामग्रीको अभावमा पाँच महिनासम्म रोकिएको थियो । तर पछि पुनः यसलाई सुचारु गरेर केन्द्रले हालै यसलाई पूर्णता दिएको हो ।
केन्द्रले यसका लागि स्थानीय रुपमै उपलब्ध संसाधनहरुको प्रयोग गरेको छ । ब्यागका लागि प्लास्टिक तथा पीभीसी फेब्रिकहरु प्रयोग गरेको छ ।
त्यस्तै सेक्सन लिमिट निर्माणका केही जटिल भएको हुँदा पङ्खा जस्ता विभिन्न सामग्री विदेशबाट आयात गरिएको बस्नेतले बताए । परीक्षणकालमा मनाङ एयरलाई दानमा दिइएको एउटा आइसोलेसन च्याम्बर प्रोटोटाइपमाथि थप परामर्श लिएर सुधार गरिएको छ ।
हालको नयाँ मोडेलले स्वास्थ्य मन्त्रालयबाट समेत प्रमाणीत भइसकेको बस्नेतले बताए । हाल केन्द्रमा आइसोलेसन च्याम्बरका लागि धेरै ठाउँबाट सोधपुछ तथा सम्पर्क हुने गरेको छ ।
कोरोना संक्रमितबाट उत्पन्न हुने नकरात्मक दबावका कारण बिरामीलाई बाहिरी वातावरणबाट यस किसिमको च्याम्बरले अलग्याउने गर्दछ । साथै यसले बाहिरबाट फिल्टर हावा पठाएर विरामीको श्वास प्रश्वासमा समेत सहयोग पुर्याइरहेको हुन्छ ।
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हेलिकप्टरमा कोरोनाको बिरामी बोक्ने Manang Air ले लगेको Isolation Chamber. दुई ओटा कम्पनीले मात्र त्यसको स्वीकृति पाएछन. अनुमति पाउने अर्को कम्पनी Kailash Air ले China बाट ल्याएको सो च्याम्बर ३ लाख रुपैंया जति परेछ. हाम्रो ८० हजार मात्र पर्यो. pic.twitter.com/S6gcVKLKSq
— Mahabir Pun (@MahabirPun) December 12, 2020
अस्पताल, एम्बुलेन्स तथा उद्धारक विमानहरुमा यसको प्रयोग हुने गर्दछ । हाल यो च्याम्बर केन्द्रबाट ८० हजार रुपैयाँमा उपलब्ध भइरहेको केन्द्रका संस्थापक महाबीर पुनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
