close

ब्राजिलमा ह्वाट्सएप बन्यो सबैभन्दा लोकप्रिय एप

टेकपाना टेकपाना

पुस १२, २०७७ १५:३३

ब्राजिलमा ह्वाट्सएप बन्यो सबैभन्दा लोकप्रिय एप

काठमाडौं । ह्वाट्एपको लागि ब्राजिल सबैभन्दा महत्वपूर्ण देश हो । त्यसैले पनि होला ह्वाट्सएपले आफ्नो धेरैजसो नयाँ फिचरको सुरुवात ब्राजिलबाटै गर्दै आएको छ ।

सोही बजारमा अब ह्वाट्एप सबैभन्दा चर्चित एपको रुपमा छानिएको छ । प्रविधिको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दै आएको संस्था ‘ओपिनियन बक्स’ ले भर्खरैमात्र सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार ह्वाट्सएप ब्राजिलमा सबैभन्दा लोकप्रिय एपको रुपमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।

अध्ययनका लागि भएको सर्वेक्षण अनुसार ब्राजिलका प्रयोगकर्ताले अन्य एपको तुलनामा ह्वाट्सएप सबैभन्दा बढी प्रयोग गर्ने गरेको देखिएको हो । सहभागीमध्य ५४ प्रतिशतले आफू ह्वाट्सएप प्रयोग गर्ने गरेको बताएका छन् ।

त्यस्तै दोस्रो र तेस्रो नम्बरमा इन्स्टाग्राम र फेसबुक रहेका छन् । इन्स्टाग्राम र फेसबुकको प्रयोग क्रमशः १४ र ११ प्रतिशत रहेको छ । साथै समय बिताउने हिसाबले पनि ह्वाट्एपअघि रहेको देखिएको छ ।

दैनिक रुपमा एपमा समय बिताउनेमध्ये २९ प्रतिशत ह्वाट्सएप, २४ प्रतिशत इन्स्टाग्राम र २० प्रतिशत फेसबुक रहेको छ । त्यसमध्ये ५६ प्रतिशतले आफ्नो स्मार्टफोनको होम स्क्रिनमा ह्वाट्सएप राख्ने गरेको अध्ययनले देखाएको छ ।

त्यतिमात्रै नभएर भिडियो कल र कन्फ्रेन्सिङ कलका लागि पनि ह्वाट्सएप नै बढी प्रयोग गर्ने गरेको सर्वक्षेणले देखाएको छ । सर्वेक्षण अनुसार ९३ प्रतिशतले ह्वाट्सएप, ३४ प्रतिशतले म्यासेन्जर, ३२ प्रतिशतले जूम र ३२ प्रतिशतले गुगल मिट प्रयोग गर्ने गरेको जनाएका छन् ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०