काठमाडौं । उपाय सिटी कार्गोले २६०० भन्दा बढी सवारी चालक र किसानहरुलाई स्वरोजगार बनाउने भएको छ । कम्पनीले संयुक्त अधिराज्य (यूके) सरकारको लगानी रहेको स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम नेपाल (सीप) सँग सहकार्य गरी महिला लगायत विदेशबाट फर्किएका कामदार र आर्थिक रुपमा पिछडिएका समुदायका लागि स्वरोजगारको अवसर प्रदान भएको हो ।
उपाय सिटी कार्गो प्रालि अनलाइनमा आधारित एक लजिस्टिक म्यानेजमेन्ट कम्पनी हो । कम्पनीले व्यवसाय र व्यक्तिहरुलाई प्रविधिको माध्यमबाट ड्राइभर पार्टनरहरुसँग जोड्नुका साथै सहज तरिकाबाट काठमाडाैं उपत्यका लगायत देशका ठूला सहरहरुमा ढुवानी व्यवस्थापनको काम गर्दै आएको छ ।
उपाय सिटी कार्गोले आफ्नो सेवा बुटवल, भैरहवा र पोखरामा विस्तार गरिसकेको छ । आगामी महिनाभित्र अन्य सहरहरुमा समेत सेवा विस्तार गर्ने कम्पनीको योजना छ । त्यसैगरी कम्पनीको सेवा विस्तारको सन्दर्भमा डीभी एक्सलस कम्पनीको अनलाइन प्लेटफर्म (खेती एप) सँग सहकार्य गरेको छ ।
जसमार्फत कृषिमा आधारित लजिस्टिक सेवा सुरुवात भइसकेको छ । दुई पाङ्ग्रे सवारीको माध्यमबाट समेत लजिस्टिक सेवा प्रदान गरी २६०० भन्दा बढी ड्राइभर पार्टनर र किसानहरुलाई रोजगारीको अवसर प्रदान गर्ने कम्पनीको योजना छ ।
उपाय सिटी कार्गोले ‘खेती’ नामक प्लेटफर्मको माध्यमबाट साना लघु कृषि उत्पादक तथा किसानहरुका साथै कृषि उपभोक्तालाई अनलाइन बजार उपलब्ध गराउनका लागि भर्खरै मात्र डीभी एक्सलस प्रालिमा लगानी समेत गरेको छ ।
सीपसँगको म्याच फण्डबाट उपाय सिटी कार्गोले ड्राइभर पार्टनर तथा किसानहरुलाई डिजिटल अर्थतन्त्र, विद्युतीय माध्यमबाट गरिने भुक्तानी, उपभोक्तासँगको सम्बन्ध, व्यवसायिकता, सडक सुरक्षा तथा सवारी साधनको मर्मत सम्बन्धी प्रशिक्षण समेत प्रदान गर्नेछ ।
कम्पनीका अध्यक्ष सुमन रायमाझीले प्रशिक्षणको विषयमा भने, ‘उपाय सिटी कार्गोको उद्देश्य डिजिटल नेपालका लागि सीपसँगको सहकार्यबाट लजिस्टिक क्षेत्रमा एक मेरुदण्डको रुपमा काम गर्नु हो ।’
प्रशिक्षणका क्रममा विदेशबाट फर्किएका कामदाहरुलाई लजिष्टिक र कृषिको क्षेत्रमा स्वरोजगार बन्ने अवसर समेत प्रदान गरिने उनले बताए । उपाय सिटी कार्गोले सवारी व्यवसायको क्षेत्रमा नेतृत्वदायी भूमिका खेलिरहेको सिप्रदी ट्रेडिङसँग समेत सहकार्य गरेको छ ।
यसका साथै, उपाय सिटी कार्गोसँग आवद्ध भएका ड्राइभर पार्टनसका लागि कुमारी बैंकमार्फत सवारी साधन खरिदमा सहुलियतपूर्ण कर्जाको साथै सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ ।
‘अनलाइन प्रविधिको माध्यमबाट ढुवानीको क्षेत्रमा आमूल परिवर्तनको सपना बोकेको उपाय सिटी कार्गो जस्तो कम्पनीसँग सहकार्य गर्न पाउँदा यूकेएड सीपको तर्फबाट अत्यन्तै खुशी व्यक्त गर्न चाहन्छु,’
यूकेएडका लागि नेपाल प्रमुख बलजित बोहराले भने, ‘उपाय सिटी कार्गोको माध्यमबाट उपभोक्ताहरुले सहजै सयौँ ड्राइभर पार्टनरहरुसँग जोडिने अवसर पाउने विश्वास हामीले लिएका छौं ।’
यूकेएड सीपले सन् २०१९ देखि नै व्यवसायिक कृषि, पर्यटन, आईसीटी र पूर्वाधार विकासको क्षेत्रमा मूख्य गरी प्रदेश २ र लुम्बिनी प्रदेशमा निजी तथा साझा लगानीका क्षेत्रहरु पहिचान गरी रोजगारी र उद्यममशीलताको अवसर सिर्जना गर्दै आएको छ ।