close

नेपाली आकाशमा अब इन्टरनेट र टेलिफोन सेवा

टेकपाना टेकपाना

फागुन २६, २०७७ १६:५१

नेपाली आकाशमा अब इन्टरनेट र टेलिफोन सेवा

काठमाडौं । अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने भएको छ । १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन स्वीकृति माग भएसँगै यो विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।

प्राधिकरणका अनुसार ६ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउनका लागि स्वीकृति मागेको थियो ।

दूरसञ्चार सेवा प्रदान गर्ने भन्दै साे कम्पनीले निवेदन पेश गरेकाे थियाे । प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने, ‘त्यसका लागि उनीहरुले विमानभित्रै पिको सेल अर्थात फोरजीको सानो बीटीएस राख्नेछन् ।’

बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भएर विमानमा सेवा उपलब्ध हुने यस्ताे सेवा, जुन देशको विमान हो, त्यही देशको दूरसञ्चार सेवा प्रदायकको हुनेछ ।

‘यो भनेको हाम्रो आकाशमाथि अन्य देशका सेवा प्रदायकको नेटवर्कले पनि काम गर्ने बनाउने हो,’ स्थापितले भने, ‘त्यसरी अन्य देशको आकाशमाथि अर्को देशको दूरसञ्चार सेवा उपलब्ध गराउन स्वीकृति लिनुपर्ने भएकाले उनीहरुले निवेदन दिएका हुन् ।’

थालसले स्वीकृति मागेको तीन महिनापछि सिता फर एयरक्राफ्ट भन्ने कम्पनी पनि सोही निवेदनका साथ प्राधिकरण आइपुग्यो । त्यस्तै केही दिन अघिमात्रै अभान्ती नामक कम्पनीको पनि निवेदन प्राप्त भएको स्थापितले जानकारी दिए ।

दुई वटा कम्पनीबाट एउटै खालको निवेदन आएपछि उक्त विषयमा अध्ययनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नागरिक उड्यन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सहितको एक समिति गठन भएको थियो ।

याे कमिटीले १० हजार फिटमाथि अन्य देशको दूरसञ्चार सेवा उपलब्ध गराउन अनुमति दिँदा हाम्रो दूरसञ्चारमा कुनै किसिमको असर नपर्ने निश्कर्ष निकालेकाे उनले बताए ।

याे विषयमा प्राधिकरण बोर्डले आवश्यक छलफल गरी निर्णय गरेसँगै निवेदन दिएका कम्पनीहरुलाई सेवा सञ्चानका लागि अनुमति प्रदान गर्ने काम सुरु हुनेछ । त्योसँगै नेपालको १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा यात्रा गर्ने यात्रुले इन्टरनेट र टेलिफाेनको मज्जा लिन पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१