close

सुधीर पराजुलीलाई आईसीटी एक्सिलेन्स अवार्ड, निजी क्षेत्रबाट ह्वावे

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १२:४९

सुधीर पराजुलीलाई आईसीटी एक्सिलेन्स अवार्ड, निजी क्षेत्रबाट ह्वावे

काठमाडौं । यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्डबाट सुधिर पराजुली सम्मानित भएका छन । चौंथो राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले पराजुलीलाई साे अवार्ड प्रदान गरेका हुन् ।

पराजुलीले सम्मानस्वरूप प्रमाणपत्र सहित लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । उनी इन्टरनेट सेवाप्रदायक सुबिसु का साथै इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष समेत हुन् ।

ह्वावे टेक्नोलोजी नेपाल कम्पनी प्रालि नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट सम्मानित भएको छ । सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट कार्य गरी सहयोग पुर्‍याएको भन्दै ह्वावेलाई यस्तो सम्मान प्रदान गरिएको हो ।

पछिल्ला २१ वर्षदेखि ह्वावेले नेपालको आईसीटी उद्योगको क्ष्ेत्रमा काम गर्दै आएको छ । नेपालमा टेलिकम सेवाप्रदायकहरुसँगको संयुक्त प्रयासबाट ह्वावेले टुजी/थ्रीजी/फोरजी प्रविधि नेपालमा भित्र्याएर देशभर कनेक्टिभिटी पुर्‍याएको छ ।

कनेक्टिभिटीका अलावा ह्वावेको आईसीटी प्रविधि र ईकोसिस्टमले सरकारदेखि वित्तीय संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक, मिडिया आदिमा विभिन्न क्षेत्रका संस्थाहरूलाई सहयोग गरिरहेको छ । नेपालमा ह्वावेले सधैं आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको रुपमा समेत विभिन्न गतिविधि गर्दै आएको छ ।

ह्वावेले नेपालमा विगत २१ बर्षदेखि १०,००० भन्दा बढी आईसीटी प्रतिभा विकास गरेको दाबी गरेको छ । ‘नेपालको एक जिम्मेवार कर्पोरेट संगठनको रूपमा ह्वावे नेपालको डिजिटल जगमामा योगदान गर्न प्रतिबद्ध छ,’ कम्पनीले भनेको छ,

‘जसमा नेपालका सबै टेलिकम सेवाप्रदायक, इन्टरनेट सेवाप्रदायक, सरकार र सबै आईसीटी साझेदारहरूलाई उच्च गुणवत्ता, विस्तारित पहुँच र सस्तो ब्रोडब्यान्ड कनेक्टिभिटी एवम् उन्नत डेटा सेन्टर प्रदान गर्दछ ।’

यसैगरी कार्यक्रममा कुशुम लामा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड वुमनबाट सम्मानित भएकी छन् । सूचना तथा सञ्चार क्षेत्रको विकास र विस्तार अभियानमा विशिष्ट योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै महालेखा नियन्त्रक कार्यालय पब्लिक सेक्टरतर्फबाट सम्मानित भएको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोगबाट अधिकतम रुपमा सार्वजनिक सेवा प्रवाह गरेको भन्दै कार्यालयलाई यस्तो सम्मान दिइएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१