close

फ्री वाईफाई चलाउँदा हुनसक्छ यस्तो जोखिम, सुरक्षित रहन के गर्ने ?

टेकपाना टेकपाना

बैशाख २४, २०७८ १३:८

फ्री वाईफाई चलाउँदा हुनसक्छ यस्तो जोखिम, सुरक्षित रहन के गर्ने ?

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक स्थानमा रहेका तथा फ्री वाईफाई प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । पब्लिक वाईफाई प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका उपायहरु अपनाउन आग्रह गर्दै प्राधिकरणले सूचना प्रकाशित गरेको हो ।

यस्तो छ प्राधिकरणको टिप्स

१. शपिङ मल, होटेल, एयरपोर्ट, रेस्टुरेन्ट, कफी शप, सार्वजनिक यातायात आदि स्थानमा हुने आधिकारिक वाईफाई नाम पहिचान गरी सो वाईफाईसँग दिइएको पासवर्ड प्रयोग गरेर मात्र इन्टरनेट चलाउनुहोस् । ह्याकरहरुले पनि उस्तै देखिने फ्री पब्लिक वाईफाई बनाउनसक्ने भएकाले त्यसप्रती सावधान रहनुहोस् । 

२. कुनै सार्वजनिक वाईफाई (फ्री पब्लिक वाईफाई) सँग जोडिदा आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्यावलेट आदिको फाइल शेयरिङ अप्सन बन्द गर्नुहोस् । साथै ल्यापटप, कम्प्युटर उपकरणमा भएको फायरवाल अप्सन सधैं अन राख्नुहोस् । 

३. पासवर्ड सुरक्षित (पासवर्ड प्रोटेक्टेड) नभएको खुल्ला वाईफाई (ओपन वाईफाई) प्रयोग गरी इन्टरनेट नचलाउनुहोस् । 

४. सार्वजनिक वाईफाई तथा हटस्पटको प्रयोग गरेर इन्टरनेट चलाउँदा सकेसम्म भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नुहोस् । 

५. सार्वजनिक वाईफाई तथा हटस्पटको प्रयोग गरेर इन्टरनेट चलाउँदा सकेसम्म इन्क्रिप्टेड (HTTPS भएको) वेबसाइट मात्र ब्राउज अर्थात भिजिट गर्नुहोस् ।

६. सार्वजनिक वाईफाई तथा हटस्पटको प्रयोग गरेर इन्टरनेट चलाउँदा व्यक्तिगत संवेदनशिल विवरणहरु भएको अनलाइन बैंकिङ, सामाजिक सञ्जाल आदि मोबाइल एप तथा साइटहरु नखोल्नुहोस् ।

७. व्यक्तिगत संवेदनशिल विवरणहरु भएका यस्ता मोबाइल एप तथा साइटहरु खोल्नैपरे आफ्नो मोबाइलको थ्रीजी तथा फोरजी डेटा प्रयोग गर्नुहोस् । 

८. सार्वजनिक वाईफाई प्रयोग गरेपश्चात् आफू लग ईन भएको प्रत्येक वेबसाइट तथा पोर्टलबाट तत्काल लगआउट गर्नुहोस् । 

९. सार्वजनिक स्थलमा उपलब्ध टर्मिनल तथा कम्प्युटरको प्रयोग गरी इन्टनेट चलाइसकेपछि आफूले भिजिट गरेको ब्राउजिङ हिस्ट्री तथा वेब क्याश डिलिट गर्नुहोस् ।

१०. सार्वजनिक वाईफाई तथा नेटवर्कसंग जोडिने उपकरण (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट) मा अनिवार्य रुपमा एन्टिभाइरस राख्नुहोस् । 

११. आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याब्लेट प्रयोग नभएको बेला आफ्नो उपकरणको वाईफाई Wi-Fi वा ब्लुटुथ कनेक्टिभिटी बन्द राख्नुहोस् । साथै वाईफाईको अटो कनेक्सनको साटो म्यानुअल मोड प्रयोग गर्नुहोस् । 

१२. सार्वजनिक वाईफाई तथा नेटवर्कबाट वित्तीय कारोबार नगर्नुहोस् । साथै सार्वजनिक वाईफाई/नेटवर्कको प्रयोग गर्दा आफ्नो पासवर्ड, ओटीपी, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण सम्बन्धी कुनै पनि कारोबार नगर्नुहोस् । 

१३. आफ्नो डिजिटल खाता (डिजिटल अकाउन्ट), ईमेल अकाउन्ट आदिलाई सुरक्षित राख्न कम्तिमा पनि टु फ्याक्टर अथेन्टिकेसन (2FA) को प्रयोग गर्नुहोस् । 

१४. पुराना तथा म्याद गुज्रिएका उपकरणहरु जोखिमयुक्त हुनसक्ने भएकाले त्यस्ता उपकरणहरुमा सार्वजनिक वाईफाई नचलाउनुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१