काठमाडौं । सरकारी दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमको ग्राहकबाट सोझै प्राप्त हुने आम्दानीमा उल्लेख्य सुधार आएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार तेस्रो त्रैमास (माघ-चैत) मा मात्र कम्पनीले ग्राहकबाट ९ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको हो ।
जबकि आव २०७६/७७ को सोही अवधिमा ग्राहकबाट हुने टेलिकमको आम्दानी ८ अर्ब ७९ करोड रुपैयाँ मात्र रहेको थियो । यस हिसाबले टेलिकमले तेस्रो त्रैमासिकमा मात्र करिब एक अर्ब रुपैयाँले आम्दानी बढाएको छ ।
विवरण अनुसार चालू आवको नौ महिनासम्म (साउन-चैत) भने टेलिकमको ग्राहक आम्दानी २७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २६ अर्ब ८३ करोड रुपैयाँ थियो । ग्राहकबाहेक टेलिकमले ब्याज तथा अन्य बिक्रीबाट समेत आम्दानी गर्दै आएको छ ।
जसलाई विवरणमा अन्य आम्दानी शीर्षकमा राखिएको छ । अन्य आम्दानीसहित नौ महिनामा टेलिकमको कूल आम्दानीले ३१ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ ।
गत आवको नौ महिनासम्म टेलिकमको कूल आम्दानी ३२ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । कोरोना सङ्क्रमणबीच पनि ग्राहक आम्दानी बढाएको भएपनि टेलिकमको खुद नाफा भने घटेको छ ।
कम्पनीका अनुसार नौ महिनासम्म खुद नाफा पाँच अर्ब ८८ करोड रुपैयाँ आर्जन भएको छ । जबकि यस्तो खुद नाफा अघिल्लो आवको चैतसम्म ७ अर्ब ५६ करोड रुपैयाँ थियो ।