close

बेलाबेलामा किन चल्दैन इन्टरनेट ?

टेकपाना टेकपाना

जेठ ३, २०७८ १३:३३

बेलाबेलामा किन चल्दैन इन्टरनेट ?

काठमाडाैं । घरमा बत्ति छ । इन्टरनेटको प्याकेज सकिने बेला पनि भएको छैन । तर इन्टरनेटमा भिडियो हेर्दाहेर्दै बीचैमा टक्क रोकिन्छ । कहिलेकाहिँ तपाईंले पनि यस्तै समस्या भोग्नु भएकै होला । यसरी समय समयमा इन्टरनेट किन बन्द भइरहन्छ त ?

एक्कासी इन्टरनेट बन्द हुँदा हामी हतार हतार राउटर बन्द गरेर फेरि अन गर्छौं । यसो गर्दा कहिले काहिँ त काम पनि चल्छ । तर, सधैं यसले समाधान दिँदैन ।

यहाँ हामी तपाईंलाई इन्टरनेटमा समस्या निम्त्याउने बाह्य कारणहरुको बारेमा चर्चा गर्नेछौं । अव्यवस्थित तार वितरणले पनि यस खालको समस्या सिर्जना गरिरहेको हुन्छ । तार अव्यवस्थित हुँदा काटिने, चुँडिने, जल्ने जस्ता अनेक समस्या उत्पन्न हुन्छन् ।

जसले गर्दा समय समयमा इन्टरनेट आउने जाने भइरहन्छ । यो समस्या समधान गर्नका लागि हाल काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने काम सुरु भएको छ । सँगसँगै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वाधार सहप्रयोगका लागि नयाँ कम्पनी भित्र्याउने तयारी पनि गरिरहेको छ ।

यस्तोमा एउटा कम्पनीले बनाएको तार तथा पुर्वाधारमा अरु सेवा प्रदायकले पनि इन्टरनेट पुर्‍याउन सक्नेछन् । जसले गर्दा अव्यवस्थित तारले निम्तिने अहिलेको समस्या कम हुनेछ ।

देशका विभिन्न स्थानमा ठूला–ठूला भवन, सडक, पुल जस्ता संरचना तयार भइरहेका छन् । यस क्रममा कतिपय ठाउँमा बिजुलीका पोल समेत सार्नुपर्ने हुन्छ ।

पोलमै इन्टरनेटका तार समेत हुने भएकाले इन्टरनेट सेवा प्रभावित हुन पुग्छ । समस्या उत्पन्न गराउने अर्को महत्वपूर्ण कारण भनेको विपद र प्राकृतिक प्रकोप पनि हो ।

नेपालमा हामीले समय समयमा बाढी पहिरो, हावाहुरी, आगलागी जस्ता प्रकोपहरु भोग्दै आएका छौं । जसले गर्दा पोल ढल्ने, तार काटिने, जल्ने, लगायतका समस्या निम्तिने गर्छन् । यसले समय समयमा इन्टरनेट बन्द हुन पुग्छ ।

यस्ता समस्या हाम्रो नियन्त्रण भन्दा बाहिर हुन्छन् । कतिपय स्थानमा पूर्वाधार नै परिवर्तन गर्नुपर्ने अवस्था हुन्छ । जसले गर्दा सेवा पुनः सुचारु गराउन निकै समय लाग्न सक्छ ।

हेर्नुहाेस् याे भिडिओ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१