close

थप १ सय विद्युतीय बस भित्र्याउँदै साझा र सुन्दर यातायात

टेकपाना टेकपाना

असार १८, २०७८ ८:४८

थप १ सय विद्युतीय बस भित्र्याउँदै साझा र सुन्दर यातायात

काठमाडौं । विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा यातायातले ल्याउन लागेको ४० वटा विद्युतीय बसको टेन्डर आज (शुक्रबार) खुल्दै छ । त्यो प्रक्रिया पूरा भई सम्झौता भएको ६ महिनामा विद्युतीय बस ल्याउन सकिने साझा यातायातले जनाएको छ ।

साझाले गत चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको थियो । ४५ दिने बोलपत्र गरिए पनि विश्वव्यापी कोरोनाका कारण ढिलाइ हुन पुुगेको साझा यातायातले जनाएको छ ।

खरिद प्रक्रिया अघि बढेको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए । उनका अनुसार बोलपत्र खुला गरिसकेपछि करिब डेढ महिना टेन्डरको मूल्याङ्कन गर्न लाग्नेछ । समितिले मूल्याङ्कन गरेपछि सम्झौता गरिने र सम्झौता भएको करिब छ महिनामा विद्युतीय बसहरू ल्याउन सकिनेछ ।

तुलाधरले भने, ‘कोरोनाका कारण दुुई महिना ढिला भयो, टेन्डरको मूल्याङ्कनपछि सम्झौता हुन्छ । सम्झौता भएपछि मात्र कम्पनीहरूले बस बनाउने भएकाले छ महिनामा बसहरू आउने सम्भावना छ ।’ उनका अनुसार सम्झौतापछि चरणबद्ध रूपमा निर्माणको काम हुनेछ ।

सुरुमा निर्माण कम्पनीले तीनवटा बस नेपालका सडकमा गुडाएर परीक्षण पास गर्नुपर्नेछ । परीक्षण सफल भएपछि थप बस ल्याइने तुलाधरको भनाइ छ ।

उनका अनुसार सम्झौतामा बस खरिद मात्र नभएर पाँच वर्षसम्म कम्पनीले मर्मत गर्नुपर्नेछ । मर्मतसम्भारका लागि पार्टपुर्जा उपलब्ध गराउनुुपर्नेलगायतका प्रावधान राखेर प्याकेजमै सम्झौता गर्नुपर्ने भएकाले केही दिन ढिलाइ हुनसक्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गरिनेछ । पहिलो चरणमा ४० वटा बस ल्याउने तयारी छ ।

साझाको स्पेसिफिकेसन बनाउँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको थियो । पहिल्यै नरोकिएको भए हाल बस आइसक्ने साझाको दाबी छ ।

सुन्दरका २० वटा बस आउँदै
विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका २० वटा बस सिङ्गापुरमा रोकिएका छन् । चीनबाट ल्याइएका बस कोरोनाको बन्दाबन्दीका कारण हाल सिङ्गापुरमा राखिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ४० सिट क्षमताका ती बस भारतमा बन्दाबन्दी खुल्नासाथ नेपाल ल्याइनेछ ।

सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले ५० करोड रुपियाँ लगानीमा बसहरू खरिद गरेको हो । बसहरू काठमाडौँ उपत्यकाबाहिरका प्रमुख सहरहरू बुटवल, विराटनगर, नारायणगढ, नेपालगञ्जमा पनि सञ्चालन गरिनेछ । हाल सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । – गाेरखापत्रबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५