close

डिशहोमको फाइबर इन्टरनेट अब बुटवल र बर्दिबासमा पनि

टेकपाना टेकपाना

असार २०, २०७८ १४:५६

डिशहोमको फाइबर इन्टरनेट अब बुटवल र बर्दिबासमा पनि

काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले आफ्नो सेवा विस्तार गरिरहेको छ । यसै क्रममा कम्पनीले आफ्नो इन्टरनेट सेवा बर्दिवास र बुटवलमा उपलब्ध गराएको छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सेवा सुरु गरेको कम्पनीले विस्तारै अन्य जिल्लामा इन्टरनेट विस्तार गरिरहेको छ । कम्पनीका अनुसार बुटवलको सिद्धबाबा चोक, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदबारी, भाटभटेनी लाइन लगायतका १८ भन्दा बढी स्थानमा इन्टरनेट सेवा उपलब्ध भएको छ ।

त्यस्तै बर्दिवास अन्तर्गत लालगढ हस्पिटल चोक, पानी ट्याङ्की, सुनौलो बस्ती, आदर्श चोक, बर्दिबास सिन्धुली रोड, बर्दिबास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक लगायत २१ स्थानमा सेवा विस्तार गरिसकेको छ । भने, आगामी दिनमा आवश्यकता अनुसार अझ विस्तार गर्दै जाने कम्पनीले जनाएको छ ।

हालसम्म ३०, ४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध छ । चाँडै नै २०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने तयारी कम्पनीकाे छ ।

त्यतिमात्रै नभएर कम्पनीले कम्बो प्याकेज पनि सञ्चालन गरिरहेको छ । यसअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार वार्षिक ७२०० रुपैयाँ (मासिक ६०० रुपैयाँ) मा डिशहोम लाइफ स्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ । त्यस्तै वार्षिक १० हजार रुपैयाँमा (मासिक ८३३ रुपैयाँ) डिशहोमको लाइफ स्टाइल प्याकेजसँगै २५ एमबीपीएस इन्टरनेट लिन सकिने जनाइएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३