close

सरकारी कर्मचारीलाई साइबर सुरक्षा तालिम सञ्चालन हुँदै

टेकपाना टेकपाना

असार २१, २०७८ १२:३८

सरकारी कर्मचारीलाई साइबर सुरक्षा तालिम सञ्चालन हुँदै

काठमाडौं । पछिल्लो समय साइबर आक्रमणका घटना बढेका छन् । अहिले पनि अमेरिकालगायत विश्वका हजारौं कम्पनी र्‍यानसमवेयर आक्रमणको चपेटामा परिरहेका छन् । गत वर्ष कोभिड–१९ का कारण लागू भएको लडाउनकाे समयमा नेपालमा पनि केही साइबर आक्रमणका घटना भए ।

यसरी दैनिकजसो हुने साइबर हमलाले नेपालका सरकारी निकायलाई पनि पछिल्लो समय घच्घचाएको देखिन्छ । जसले गर्दा साइबर सुरक्षासँग सम्बन्धित कानूनी तथा नीतिगत व्यवस्थामा केही सुधारका प्रयास पनि भएका छन् ।

त्यस्तै सरकारी निकायका कर्मचारीलाई समेत साइबर सुरक्षासँग सम्बन्धित सचेतना बढाउने काम सुरू भएकाे छ । यसैबीच सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको अग्रसरतामा सरकारी निकायका प्रतिनिधिलाई साइबर सुरक्षासँग सम्बन्धित तालिम प्रदान गर्न थालिएको छ ।

मन्त्रालयका कम्प्युटर इन्जिनियर प्रवेश कोइरालाका अनुसार चार दिने साे तालिममा नेपाल प्रहरी, नेपाली सेना, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, भूमी व्यवस्थापन, राष्ट्रिय परिचयपत्र, गृह मन्त्रालय, आन्तरिक राजश्व विभाग, प्रमाणीकरण नियन्त्रककाे कार्यालय लगायतका प्रतिनिधिको उपस्थिति रहेको छ ।

साथै तालिममा नेपाला राष्ट्र बैंक, लोक सेवा आयोग, सूचना प्रविधि विभाग, उर्जा मन्त्रालय, श्रम विभाग, जिल्ला प्रशासन कार्यालयबाट पनि प्रतिनिधि रहेका छन् ।

संस्थामा हुनसक्ने साइबर हमलाको पहिचान र त्यसलाई राक्न आवश्यक पर्ने प्राविधिक जानकारी समेत तालिममा दिइएकाे छ । यसका साथै साइबर हमला भएको खण्डमा तत्कालै चाल्नुपर्ने कदम र सरकारसँग उपलब्ध साइबर सुरक्षासँग सम्बन्धित सिस्टमको समेत जानकारी प्रदान गरिएकाे उनले जनाए ।

यसरी साइबर सुरक्षासँग सम्बन्धित प्राविधिक रुपमा सरकारी तहमा भएको तालिम यो नै पहिलो भएको कोइरालाले बताए । मन्त्रलायले आगामी वर्षहरूमा पनि तालिमलाई निरन्तरता दिने योजनाका साथ बजेट छुट्याएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३