close

एप्पलको आपूर्तिमा समस्या आउने चेतावनी, आईफोन १२ नकिनी १३ पर्खिनेलाई तनाव

टेकपाना टेकपाना

साउन १५, २०७८ ९:९

एप्पलको आपूर्तिमा समस्या आउने चेतावनी, आईफोन १२ नकिनी १३ पर्खिनेलाई तनाव

काठमाडौं । आगामी दिनमा आफ्ना उत्पादनहरूको आपूर्तिमा समस्या आउन सक्ने एप्पलले चेतावनी दिएको छ । एप्पलको नयाँ उत्पादन आईफोन १३ को चर्चा भइरहेको बेला एप्पलले आफ्नो तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आउने दिनहरूमा आफ्ना उत्पादनको आपूर्ति प्रभावित हुनसक्ने बताएको हो ।

केही समय अघि मात्र एप्पलको बहुप्रतिक्षित मोबाइल आईफोन १३ को डिजाइन सार्वजनिक भएको थियो । यसलगायत बजारमा आउने आईफोन बारे अन्य थुप्रै चर्चाहरू भइरहेका छन् । आईफोन १३ बजारमा आउनु भन्दा अगाडि नै यसले थुप्रै चर्चा कमाइसकेको छ ।

वित्तीय विवरण सार्वजनिक गर्दै एप्पलका प्रमुख वित्तीय अधिकृत लुका मेस्ट्रीले अन्य उत्पादन भन्दा आईफोन र आईप्याडको आपूर्तिमा समस्या हुनसक्ने बताएका छन् । “दोस्रो त्रैमासिक भन्दा सेप्टेम्बर महिनातिर हाम्रो आपूर्तिमा केही अवरोधहरू आउने हामीले आकलन गरेका छौं । यसले विशेष गरी आईफोन र आईप्याडको आपूर्तिमा प्रभाव पार्न सक्छ,” मेस्ट्रीले फोर्बसँगको कुराकानीमा भनेका छन् ।

यो खबर एप्पल प्रयोगकर्ताका लागि भने चिन्ताको विषय हुनसक्छ । कम्पनीको बहुप्रतिक्षित नयाँ फोन आईफोन १३ आउने सेप्टेम्बरमा नै सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन १३ को प्रतिक्षामै आईफोन १२ नकिनेका प्रयोगकर्ता पनि छन् ।

यही बेला एप्पलले आईप्याड मिनीको पनि रिडिजाइन गर्दैछ । एप्पलले १० करोड नेक्स्ट जेन ए१५ चीप अर्डर गर्दा बजारको माग आपूर्तिमा नयाँ रेकर्ड नै राख्ने हो कि भन्ने अनुमान गरिएको थियो ।

यद्यपि मेस्ट्रीको यो चेतावनीले एप्पलको चिप अर्डर र यसको उत्पादन आपूर्तिमा भिन्नता रहेको पुष्टि गरेको छ ।  विश्वका धेरै जसो कम्पनीमा चिप अभावको प्रभाव परेको थियो । तर यस्तो समयमा पनि एप्पलले यो स्थितिलाई आफ्नो उत्पादनमा असर गर्न दिएको छैन ।

चिप अभावका कारण धेरै जसो ग्राफिक्स कार्ड, गेम तथा कार उत्पादनकर्तालाई भने समस्या भएको थियो । यति हुँदाहुँदै पनि एप्पलले सेप्टेम्बर महिनामा आफूले दोहोरो अङ्कले आर्थिक वृद्धि गर्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१