close

फेसबुकले तीन महिनामै कमायो साढे ३४ खर्ब

टेकपाना टेकपाना

साउन १५, २०७८ १२:४२

फेसबुकले तीन महिनामै कमायो साढे ३४ खर्ब

काठमाडौं । सामाजिक सञ्जालको दिग्गज कम्पनी फेसबुकले सन् २०२१ को दोस्रो त्रैमासिकमा २९ अर्ब अमेरिकी डलर अर्थात ३४ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ठुलो वृद्धि हो ।

कम्पनीले गत वर्षको दोस्रो त्रैमासमा १८.६९ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । यो त्रैमासिकमा ठुलो आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२१ को दोस्रो अर्धवार्षिकमा भने ठूलो मात्रामा घट्ने अनुमान गरिएको छ ।

कोरोनाका कारण बढ्दो अनलाइन विज्ञापनले गर्दा दोस्रो त्रैमासिकमा कम्पनीले २९ अर्ब डलरको आँकडा छुन सफल भएको हो । तर, आउँदा दिनमा भने यही वृद्धिदर कायम राख्न मुस्किल हुने कम्पनीले जनाएको छ ।

‘यो त्रैमासिक हाम्रो अपेक्षा भन्दा बाहिर रह्यो,’ कम्पनीका सीईओ मार्क जुकरबर्गले भनेका छन्, ‘त्यसमा हामीले व्यवसाय विस्तार र प्रयोगकर्तालाई एकअर्कासँग कनेक्ट गराउन सफल भयौँ । फलस्वरूप फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता दुई अर्ब ९० करोड पुगेका छन् । यो उपलब्धि कायम राख्न आगामी दिनमा पनि प्रयास रहने छ ।’

सीईओ जुकरबर्गले कम्पनीको आगामी दुई त्रैमासिकको आम्दानीको विषयलाई लिएर यस्तो अभिव्यक्ति दिएसँगै अमेरिकी बजारमा कम्पनीको शेयर मूल्य पनि घटेको उल्लेख गरिएको छ । एकदिनमै कम्पनीको शेयर मूल्य ५ प्रतिशतले घटेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१