काठमाडौं । विगत दुई महिनादेखि सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका टेलिकमको सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा त्यहाँका स्थानीय दूरसञ्चार सेवाबाट वञ्चित भएका छन् ।
वर्षायाम सुरु भएसँगै गाउँपालिकास्थित शिकारी डाँडामा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा यस्तो समस्या आएको हो । यो विषयमा धेरैपटक टेलिकमको सिन्धुली कार्यालय तथा केन्द्रीय कार्यालयलाई समेत जानकारी गराउँदा पनि समस्या समाधान भएकाे छैन ।
जिल्लाका एकजना ट्वीटर प्रयोगकर्ता नटबर खत्रीले ट्वीटमार्फत टेकपानालाई यस विषयमा जानकारी गराएका थिए ।
उनको ट्विटलाई आधारमा मानेर हामीले तीनपाटन गाउँपालिकाका प्रमुख कर्णबहादुर मगरसँग कुराकानी गरेका थियौं । उनले गएको जेठदेखि गाउँपालिकामा टेलिकमको सेवा अवरुद्ध भएको बताए ।
टेलिकमले CUG सेवा, Unlimited Voice र Data, Social Media pack, FTTH offer, 4G LTE प्रविधिमा आधारित VoLTE सेवाहरू ल्याई रहदा कतै भने भएको टावर समेत अवरुद्ध हुने परिस्थितिले त हामी सेवाग्राही मार्कामा परेउ है!@ndcl_nt@ntagovnp@hello_sarkar@TechPanaNews ४/४
‘वर्षायाम सुरु भएसँगै टेलिकमको सेवा अवरुद्ध हुने थालेको थियो,’ मगरले भने, ‘सुरुवाती चरणमा कहिले साँझ ५ बजे अथवा ८ बजेबाट नेटवर्क जाने र बिहान ११ बजेमात्रै आउने समस्या थियो । यो विषयमा हामीले धेरैपटक टेलिकमलाई समेत जानकारी गराएका हौं । आधिकारिक रुपमा पत्र नै पठाएर पनि यस विषयमा ध्यानाकर्षण गराउने काम भएको छ । तर, टेलिकमबाट यो विषयमा कुनै जवाफ आएको छैन ।’
दिनमा केही समयसम्म नेटवर्क आउँदासम्म त ठीकै थियो । केही दिनदेखि गाउँपालिकामा टेलिकमको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको खबर आएको छ ।
उनले भने, ‘म अहिले काठमाडौंबाट फर्किदै छु । टेलिकमको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको खबर आएसँगै तत्कालै टेलिकमलाई पुनः जानकारी गराउनसमेत गाउँपालिकामा निर्देशन भइसकेको छ । त्यसको जवाफ टेलिकमबाट के आएको छ भन्ने विषयमा भने मलाई जानकारी छैन ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार विशेषगरी विद्युतीय समस्याका कारण गाउँपालिकामा टेलिकमको नेटवर्कमा समस्या आएको हुनसक्ने बताए ।
उक्त समस्या समाधानका लागि विद्युत प्राधिकरणमा हाम्रो तर्फबाट डेडिकेटेड लाइनको लागि पनि प्रस्ताव भएको हो । त्यसमा पनि कुनै उपलब्धि भएको छैन ।
यसरी सेवा अवरुद्ध हुँदा स्थानीय प्रभावित भएका उनले बताए । ‘गाउँपालिकामा एनसेलको नेटवर्कले काम गरिरहेको छ,’ उनले भने, ‘तर, सँगै भएको टेलिकमको नेटवर्कले काम गरिरहेको छैन । सम्भवतः पालिकामा नेपाल टेलिकमका प्रयोगकर्ता धेरै छन । त्योहुँदा बढी प्रयोगकर्ता यसबाट प्रभावित भएका छन् ।’
टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले याे विषयमा हालसम्म कुनै जानकारी नभएकाे र तत्कालै बुझेर आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् ।