close

अनलाइन परीक्षाको माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय ठप्प, प्रशासन भन्छः प्रविधि छैन

टेकपाना टेकपाना

साउन २१, २०७८ २०:३०

अनलाइन परीक्षाको माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय ठप्प, प्रशासन भन्छः प्रविधि छैन

काठमाडौं । अनलाइन परीक्षाको विषयलाई लिएर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी भएको छ । अनलाइन परीक्षा लगायतका विभिन्न माग राख्दै विद्यार्थी सङ्गठनले विश्वविद्यालयको सम्पूर्ण प्रशासनिक गतिविधि ठप्प पारिदिएका हुन् ।

तर विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै अनलाइन परीक्षा सम्भव नरहेको जवाफ दिएको छ । ‘चार विद्यार्थी सङ्गठनले राखेको १८ बुँदै मागमध्ये ‘विगतको अनुभव, उपलब्ध प्रविधि र यसको पहुँच, शैक्षिक गुणस्तर, वैधानिकता तथा विद्यार्थीको भविष्य समेतलाई मध्यनजर गर्दै विश्वविद्यालयले अनलाइन परीक्षाको माग पुरा गर्न नसक्ने अवगत गराइन्छ,’ विश्वविद्यालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

अन्य मागहरू यस अघि नै पूरा गरिसकेको भन्दै विश्वविद्यालयले बाँकी मागहरु आपसी सम्वाद, सहमति र छलफल मार्फत पुरा गरी विश्वविद्यालयको शैक्षिक वातावरण सहज बनाउन अग्रसर रहेको उल्लेख गरेको छ ।

‘वार्ता द्वारा जायज माग सम्बोधन गर्ने प्रयास गर्दागर्दै पनि आन्दोलनरत पक्षले वेवास्ता गरेमा विश्वविद्यालयमा अध्ययनरत समग्र विद्यार्थीहरूको हितलाई मध्यनजर गरी स्थगित भएका सम्पूर्ण परीक्षाहरूको समय तालिका सार्वजनिक गरी सञ्चालन गर्न बाध्य हुने व्यहोरा जानकारी गराइन्छ,’ विश्वविद्यालयले चेतावनी दिएको छ ।

विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयको कार्यकारी परिषदबाट पास भएको वैकल्पिक परीक्षा कार्यविधि अनुसार तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने, अनलाइन कक्षाका लागि कोभिड १९ अवधिको शुल्क मिनाहा हुनुपर्ने, पाठ्यक्रम अनुसारको ई-लाइब्रेरीको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१