काठमाडौं । प्रविधि विश्वमा एप्पलका आईफोनको छुट्टै क्रेज छ । यसको आफ्नै फ्यान फलोइङ र यसलाई मन पराउने मानिसहरू विश्वमा धेरै छन् । यसका अघि कयौं ठूला ठूला ब्रान्ड समेत असफल रहे ।
तर हालै मात्रै चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्नो नयाँ स्मार्टफोन वनप्लस नाइन प्रो सम्बन्धी एउटा पोस्ट गर्यो । जसमार्फत उसले प्रविधिको दिग्गज कम्पनी एप्पलको मजाक समेत उडाएको छ ।
तस्वीरमा फोनको पछाडि स्याउ, अनार लगायतका फल देख्न सकिन्छ । वनप्लस ९ प्रो मर्निङ मिस्ट, पाइन ग्रिन र स्टेलर ब्ल्याक गरी तीन वटा कलर अप्सनमा आएको छ । अब यसलाई सेतो कलरमा समेत ल्याउन लागिएको छ ।
शुक्रबार वनप्लसले दर्शकमाझ सेतो रङ्गको फोनको तस्वीर शेयर गर्यो । र त्यसमा लेख्यो, ‘वनप्लस ९ प्रो ह्यासट्याग सहित लेखिएको छ, ‘फोर्बिडन फ्रुट्स’ अर्थात ‘निषिद्ध फल’ । इन्स्टाग्राममा राखिएको पोस्टले यो समाचार तयार पार्दासम्म करिब ५७ हजार लाइक बटुलिसकेको छ ।
कम्पनीको अकाउन्टमा ३६ लाख फलोअर छन् । फोनको सेतो कलरको भेरियन्टलाई कम्पनीले आफ्नो आठौं वर्ष पुरा भएको उपलक्ष्यमा सार्वजनिक गरेको हो ।
पोस्टमा कयौं प्रयोगकर्ताले यो फोनको प्रशंसा गरेका छन् भने केहीले तस्वीरलाई आईफोन निर्माता कम्पनी एप्पलसँग दाँजेको अर्थमा लिएका छन् । एकजना प्रयोगकर्ताले वनप्लस एप्पलभन्दा माथि उक्लिएको लेखेका छन् भने अर्का प्रयोगकर्ताले एप्पलसँग आफूलाई तुलना नगर्न भनेका छन् ।
यो फोन कम्पनीले निकट भविष्यमा चिनियाँ बजारमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । तर यो फोन नेपाल लगायतका अन्य मुलुकमा आउँछ वा आउँदैन, अहिलेसम्म स्पष्ट छैन । यो नयाँ भेरियन्टको मूल्य समेत सार्वजनिक गरिएको छैन ।